विराटनगर। विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्रा यस वर्ष पनि परम्परा धान्नेगरी समान्य रुपले मात्र निकाल्ने तयारी गरिएको छ । तर, कोरोना संक्रमण बढ्दो भएकाले सबै क्षेत्रमा अनिवार्य स्वाथ्य मापदण्ड पालना गराउनुपर्ने तर, रथयात्रालाई मात्र रोक लगाउन नहुने आवाज यतिबेला उठिरहेको छ ।
स्थानीय प्रशासन र विराटनगर महानगरपालिकाले महामारीलाई मध्य नजर गर्दै सामान्य रुपमा मात्र रथयात्रा निकाल्नुपर्ने जनाएका छन् । तर, रथयात्रा ननिकालिने भए सवैकुरामा रोक लगाइनुपर्ने र सवै क्षेत्रमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराइनुपर्ने आवाज यतिबेला उठिरहेको छ । सवै क्षेत्रमा छुट दिएर रथयात्रामा मात्र रोक लगाउन नहुने भन्दै विरोध सुरु भएको हो ।
विराटनगर महानगरपालिकाले भने नेपाल–भारतका लाखौँ भक्तजनको भीड सहित निकालिने रथयात्राका कारण स्थिती भयावह हुनसक्ने भएकाले यो वर्ष संयमता अपनाउन महानगरवासीलाई आग्रह गरेको । मेयर नागेश कोइरालाले यो वर्ष संयमता अपनाएर आगामी वर्षमा भव्यरुपमा रथयात्रा निकाल्न सकिने बताएका छन् । ‘हामीले सतर्कता नअपनाए भोलि स्थिती अझ भयावह हुन सक्छ ।
यसकारण यो वर्ष सवै संयमित हौँ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘अर्को वर्ष यसलाई भव्य रूपमा मनाउन सकिन्छ । रथयात्राकै कारण भविष्यमा हामीलाई ठूलो क्षति नहोस् भन्नेतर्फ महानगरको ध्यान हो ।’
वर्षेनी नेपाल र भारतका लाखौँ भक्तजनहरुको सहभागीतामा निकालिने विराटनगरको ऐतिहाँसि राधाकृष्ण रथयात्रा कोरोना महामारीका कारण देखाउँदै विगत २ वर्षदेखि सामान्य रुपमा विधि मात्र पुयाइँदै आएको छ । गतवर्ष पनि परम्परा धान्नका लागि भन्दै समान्य रुपमा मात्र रथयात्रा निकालिएको थियो ।