
तेह्रथुमको वसन्तपुर बजार गुराँसको राजधानीका रूपमा चिनिने तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको मुख्य प्रवेशद्वार हो। लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको यस पर्यटकीय बजारको मुख्य चोकमा निर्माण गरिएको लालीगुराँसको स्तम्भले यहाँ प्रवेश गर्ने पर्यटकलाई पहिलो नजरमै स्वागत गर्छ। उक्त स्तम्भले गुराँसको राजधानी टिएमजे क्षेत्रमा पुगेको स्पष्ट सन्देश दिन्छ।

लालीगुराँस स्तम्भ २०७१ सालमा तत्कालीन पर्यटन कार्यालय काँकरभिट्टाको तीन लाख रुपैयाँ सहयोग र स्थानीयको सहभागितामा कुल पाँच लाख ८५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो। लालीगुराँस नगरपालिकाको पहिचानकै रूपमा यो स्तम्भ स्थापित भइसकेको लालीगुराँस संरक्षण अभियन्ता तथा पूर्व प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले बताए। गुराँस निश्चित समयमा मात्रै फुल्ने भए पनि वर्षभरि गुराँसको बिम्ब प्रस्तुत गर्न स्तम्भ निर्माण गरिएको उनको भनाइ छ।
कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा स्थानीय पहिचान झल्काउने र स्थान विशेषको महत्व बुझाउने उद्देश्यले विभिन्न ठाउँमा यस्ता स्तम्भ निर्माण गरिएका छन्। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा कृषि विशेषता बोकेका यी स्तम्भले स्थानको चिनारी दिनुका साथै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याएको स्थानीय बताउँछन्।
जिल्ला सदरमुकाम म्याङलुङमा निर्माण गरिएको ‘मेयङ’ अर्थात् बिरालोको स्तम्भले म्याङलुङको ऐतिहासिकता झल्काउँछ। परापूर्वकालमा म्याङलुङ नगरपालिका–२ नागदहमा बिरालो आकारको ढुङ्गाका रूपमा प्रकट भएकी शक्तिशाली मेयङलुङ देवीलाई पछि हालको म्याङलुङ बजार क्षेत्रमा प्रतिस्थापन गरिएको जनविश्वास छ। यही देवीको नामबाट मेयङलुङ हुँदै म्याङलुङ नाम रहन गएको बताइन्छ।
यस मिथक र इतिहासलाई जीवन्त राख्न आर्थिक वर्ष २०७२–७३ मा म्याङलुङ नगरपालिकाको पाँच लाख रुपैयाँ लगानी र अन्य दाताको सहयोगमा करिब ३५ लाख रुपैयाँ लागतमा मेयङलुङ स्तम्भ निर्माण गरिएको थियो। रेलिङ, सिसी क्यामेरा तथा घण्टाघण्टामा बिरालोको आवाज निकाल्ने साउन्ड प्रविधिसहित स्तम्भ निर्माण गरिएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका तत्कालीन सचिव तेजमान कन्दङवाले जानकारी दिए।
स्थानीय पहिचान झल्काउने यस्ता स्तम्भले पर्यटकलाई आकर्षित गर्नुका साथै सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा समेत सहयोग पुर्याएको स्थानीयको अनुभव छ। मेयङलुङ स्तम्भ निर्माणपछि सदरमुकाम क्षेत्रमा चहलपहल बढेको म्याङलुङकी स्थानीय कल्पना ल्वागुनले बताइन्।
विशेषतः मध्यपहाडी लोकमार्गमा पर्ने बजार र चोकहरूमा स्थानीय इतिहास, संस्कृति र कृषि उपजलाई प्रतिनिधित्व गर्ने स्तम्भहरू निर्माण गरिएका छन्। लसुन उत्पादनका लागि प्रसिद्ध लालीगुराँस नगरपालिका वडा नम्बर ७ र ९ को सङ्गमस्थल लसुने बजारमा २०७२ सालमै लसुनको स्तम्भ निर्माण गरिएको छ। देश–विदेशमा रहेका लसुनेवासीको सहयोगमा स्तम्भ निर्माण गरिएको स्थानीय हिमबहादुर खत्रीले बताए।
त्यस्तै, म्याङलुङ नगरपालिका–९ स्थित हलिमेला बजारमा काँधमा हलो बोकेको हलीको स्तम्भ निर्माण गरिएको छ। खेतीपाती गर्ने हलीहरू बसोबास गर्ने र पछि मेला लाग्ने प्रचलन सुरु भएकाले यस स्थानको नाम हलीमेला रहन गएको बताइन्छ। उक्त ऐतिहासिकतालाई संरक्षण गर्न स्तम्भ निर्माण गरिएको स्थानीय खगेन्द्र तामाङले बताए।
सदरमुकाम म्याङलुङको टुँडिखेलमा ढाका बुनिरहेको महिलाको स्तम्भ पनि निर्माण गरिएको छ। २०७९ सालमा ‘ढाकाको राजधानी’ घोषणा गरिएको तेह्रथुमे ढाकाको पहिचान उजागर गर्न प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा यो स्तम्भ निर्माण गरिएको हो। यसले ढाका बुन्ने महिलाको सम्मानसमेत गरेको म्याङलुङ नगरपालिकाका उपप्रमुख जमुना कार्की सुवेदीले बताइन्।
यसरी निर्माण गरिएका स्तम्भहरूले इतिहास र परम्परालाई जीवन्त राख्नुका साथै स्थानीय विशेषता उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको जिल्लावासी बताउँछन्। पर्यटन र मौलिकता संरक्षणका लागि स्थानीय सरकार र समुदायको सहकार्यमा अपनाइएको यो अभ्यास प्रभावकारी र आकर्षक बनेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताए।