श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्ष देशबाहिर जान खोजेको भए पनि अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीहरूले उनलाई रोकेको खबर आएको छ ।
रेडियो फ्रान्स इन्टरनेसनले श्रीलंकाको आधिकारिक स्रोतहरूलाई उद्धृत गरी तयार पारेको खबरअनुसार, शनिवार प्रदर्शनकारीहरू राष्ट्रपति निवास पुग्नुभन्दा ठीक अघि त्यहाँबाट भागेका गोटाबाया दुबई जान खोजेका थिए ।
राष्ट्रपतिको हैसियतमा राजपक्षले दण्डबाट उन्मुक्ति पाएका छन् । त्यही हैसियतमा विदेश जान पाए सजायबाट बचिने विश्वास लिई उनी जान खोजेका थिए ।
तर अध्यागमन अधिकारीहरूले भीआईपी सुटमा गएर उनको पासपोर्टमा छाप हान्न नमानेको बताइएको छ । विमानस्थलमा रहेका अन्य व्यक्तिले त्यसो गरेको थाहा पाएमा कुटपिट गर्लान् भन्ने डरले अधिकारीहरू हच्किएको बताइन्छ ।
अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको सैन्य अड्डामा राष्ट्रपति र उनकी पत्नीले रात बिताएका थिए । त्यसबीचमा श्रीलंकाबाट यूएई जाने चारवटा फ्लाइट उनीहरूले मिस गरेका थिए ।
गोटाबायाका कान्छा भाइ बेसिल पनि मंगलवार दुबई जाने फ्लाइटमा चढ्न पाएनन् । विमानस्थलका कर्मचारीहरूले उनलाई पनि जान दिएनन् ।
गोटाबायाले राष्ट्रपति निवासमा रहेको १ करोड ७८ लाख रुपैयाँ नगद छोडेर भागेको बताइन्छ । उक्त रकम कोलम्बोको एक अदालतले राखेको छ ।
राष्ट्रपति अहिले कहाँ छन् भनी खुलेको छैन । news source :- Lokantar