
विराटनगर। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षको केन्द्रीय सदस्य सूचीमा परेका लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौंमा जारी महाधिवेशनमा पण्डितले सचिव पदका लागि उम्मेदवारी दर्ता गराएको जानकारी दिएका हुन्। यसअघि उनी नेकपा एमालेको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए।
दशौँ महाधिवेशनमा पनि पदाधिकारी बन्ने आकांक्षा राखेका पण्डित अन्तिम सूचीमा नपरेपछि असन्तुष्ट हुँदै फर्किएका थिए। सचिव पदमा उनले कुन प्यानलबाट उम्मेदवारी दिएका हुन् भन्ने विषयमा भने उनले खुलाएनन्।
उनले भने, “अहिले त्यस्तो कुरा नगरौँ, मैले सचिव पदमा उम्मेदवारी दिएको छु।”