काठमाडौं । स्थानीय तहको नेतृत्व गर्ने आशमा प्रदेश सभाबाट ८ जना सदस्यहरु राजिनामा दिएर निर्वाचनमा होमिए । प्रदेश सभा सदस्यबाट राजिनामा दिएका मध्ये ६ जनाले हार व्योहोरेका छन् । २ जना भने स्थानीय तहमा निर्वाचित भएका छन् ।
प्रदेश १ प्रदेशसभाबाट राजिनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भए । उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेद्वार तथा सूर्योदयका पूर्व प्रमुख रणबहादुर राईले पराजित गरे ।राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् । एमाले उम्मेदवार कागते १ हजार ८५२ मतान्तरले पराजित बने । कागते एमालेबाट मेयर जित्ने दाबीका साथ स्थानीय तहको निर्वाचनमा होमिएका थिए ।
जनताले बोलाएको दाबीलाई मतले उल्टाएपछि
प्रदेश सभा सदस्यबाट राजिनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’ सर्लाही क्षेत्र ४ (ख) बाट मधेस प्रदेश सभा सदस्य रहेका उनी राजिनामा दिएर गोडैता नगरपालिकाको मेयर उठेका थिए ।उनले मेयरका लागि भोट माग्दा जनताको सेवा गर्न प्रदेश सभा छाडेको भन्ने गरेका थिए । जे भनेर भोट मागे पनि उनलाई जनताले मेयरमा पत्याएनन् ।उनी चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का देवेन्द्रकुमार यादवसँग ५४२ मतले पराजित भएका छन् । दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका लोसपाका यादवले ५ हजार २९४ मत ल्याए ।
उपेन्द्रप्रसाद कुशवाहा र देवेन्द्र यादव ।
निकटतम प्रतिद्वन्द्वी कुशवाहाले ४ हजार ७५२ मत पाए । कुशवाहा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगर प्रमुखमा यादवसँगै पराजित भएका थिए । त्यो बेला कुशवाहा २२८ मतले पराजित भएका थिए ।यादवले ३ हजार ९०२ मत पाउँदा दोस्रो भएका कुशवाहाले ३ हजार ६७४ मत ल्याएका थिए ।मेयर हारेका उनले २०७४ कै मंसिरमा भएको प्रदेश सभामा टिकट पाए र चुनाव जिते । जनताले जिताएको प्रदेश सभाको सदस्य छाडेर मेयर बन्न खोजेका उनले यसपाली भोट त बढाए, तर देवेन्द्रलाई हराउन सकेनन् ।
पूर्व सहकर्मीसँगको हार
यस्तै गण्डकी प्रदेश सभा सदस्य राजिनामा दिएर महानगरको मेयरमा उम्मेद्वार बनेका कृष्ण थापा आफ्ना पूर्वसहकर्मी धनराज आचार्यसँग नराम्ररी पराजित भए । थापा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि मेयरका आकांक्षी थिए । एमालेबाट पोखराको मेयर बन्ने दौडमा अन्तिम तीन प्रतिस्पर्धीमध्येका थापाले टिकट पाएनन् ।
कृष्ण थापा र धनराज आचार्य ।
२०७४ को स्थानीय तह निर्वाचनमा मानबहादुर जिसीले टिकट पाए र मेयर बने । यसपटक जसरी पनि टिकट हात पार्ने रणनीतिमा थापा थिए ।
टिकट त पाए तर धनराजले ५८ हजार मत पाउँदा थापाले ५२ हजार मात्रै मत पाए । उसो त उनी गण्डकी सरकारमा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारमा मन्त्री हुन जोडबल गरे पनि नेता खगराज अधिकारी समूहका थापाको जोर चलेको थिएन ।
सांसद छोडे, मेयर पाएनन्
लामो राजनीति यात्रा बोकेका विजय सुवेदी प्रदेश सांसद छोडेर भरतपुर महानगरको मेयर बन्न गए । गठबन्धन भित्रबाट नेपाली कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेद्वारी दिएपछि सहज मैदानमा मानेका सुवेदीले आफ्नै पार्टीको मत जोगाउन सकेनन् ।
विजय सुवेदी ।
उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालसँग पारजित भए । उनलाई गठबन्धनबाट मेयर बनेकी दाहालले ५२ हजार २८ मत ल्याइन् भने सुवेदीलाई ३९ हजार ५ सय ८२ मत मात्रै आयो । सुवेदी १६ वर्षको उमेरदेखि नै कम्युनिस्ट राजनीतिमा लागेका थिए । २०३७ सालमा चितवनको गुञ्जनगर बसाइ सरेका सुवेदीको परिवार २०६५ देखि भरतपुर–१२, मिलनचोकमा स्थायी भएको हो ।
चर्चा धेरै मत कम
यो स्थानीय तहको निर्वाचनमा सर्वाधिक चर्चा र विवादका पात्र बनेका उम्मेद्वार हुन केशव स्थापित । बागमतीको प्रदेश सांसदबाट राजिनामा दिएर फेरि काठमाडौंको मेयर हुन आएका थिए । आफ्ना विपक्षीहरुलाई कमजोर र निम्नस्तरको टिप्पणी गरेका स्थापितले प्रतिस्पर्धी नै नभएकोसम्म भ्याए ।उनलाई मिटू अभियानले थप विवादित बनाएको थियो । तर स्थापितलाई स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह(बालेन)ले सुरु देखि नै पछि पारेका थिए । मतगणनाको अन्तिम चरणमा आईपुग्दा बालेनको जित पक्का भईसकेको छ भने यो समाचार तयार पार्दासम्म स्थापित तेस्रो स्थानमा छन् ।
केशव स्थापित ।
झण्डै डेढ दशकपछि मेयरको त्यही कुर्सीमा उक्लिन चुनावी मैदानमा उत्रिएका स्थापित यो राजधानी सहरको चुनावी खेलका निकै अनुभवी खेलाडी भएता पनि ठुलो झड्का खाए ।२०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा उनी तत्कालीन नेकपा (माले)का तर्फबाट उपप्रधानपञ्चको जनपक्षीय उम्मेदवार थिए । यस हिसाबले उनी ३६ वर्षयता निरन्तर काठमाडौंको नेतृत्व लिने खेलमा रहेका स्थापित यो चोटी पछि परे ।
सभापतिको हार पालिकामा
मधेश प्रदेशका प्रदेशसभा सदस्य स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका हुन् ।प्रदेशसभा सदस्यबाट राजिनामा दिएर गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित गरेका हुन् ।दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले भने ८०७३ मत ल्याए । अब्दुल कलाम मधेश प्रदेश सरकारको विकास समितिको सभापतिसमेत थिए ।
र जसले जिते
राजिनामा दिएका ८ प्रदेश सांसद मध्ये दुई प्रदेश सांसदले भने जितेका छन् । लुम्बिनी प्रदेश सांसद दिपेश थारुले जीत हात पारेका हुन् । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट थारु निर्वाचित भएका हुन् ।उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शाहले नौ हजार ७६० मत ल्याए । त्यस्तै नेकपा एमलेका पहारी चौधरीले ६ हजार ७२ मत पाए ।
एक नम्बर प्रदेशको प्रदेश सभा सदस्य छोडेर गएका गोपालचन्द्र बुढाथोकी भने मेयरमा निर्वाचित भएका छन् ।झापाको मेचीनगर नगरपालिकाका एमालेका नगरप्रमुखका उम्मेद्वार बनेका गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरेर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका थिए ।