काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् ।
राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउने कार्यतालिका छ ।सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र दुईवटा अध्यादेश पेश गर्ने कार्यतालिका छ ।
कार्यतालिका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बनधी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्नेछन् ।कानुनमन्त्रीले नै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यतालिका छ ।
आजै, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यो अधिवेशनको मुख्य काम बजेट पारित गर्नु हो । यसकारण वर्षे अधिवेशनलाई बजेट अधिवेशन समेत भनिन्छ ।
संघीय संसद सचिवालयले मंगलबार बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने, भोलि पूर्वबजेट छलफल चलाउने, बिहीबार अर्थमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने र ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।