शुक्रबार, कार्तिक ०५, २०७८ || 499  पटक पढिएको

बैंकबाट लुटिएको मोटो रकम कहाँ छ ? धनपालथान–४ कर्सियास्थित बीपी चोकस्थित सिटिजन्ज् बैंक लुट्ने ४ लुटेरालाई मोरङ प्रहरीले सार्वजनिक गरे पनि लुटिएको भनिएको २१ लाख रूपैयाँ कहाँ छ भन्ने विषयमा प्रहरी मौन देखिएको छ ।
बैंकले लुटिएको रकमको लगत निकाल्ने क्रममा २१ लाख ७० हजार रूपैयाँ किटान गरेको छ । उक्त रकम हाल कहाँ र कसको जिम्मामा छ भन्ने विषयमा प्रहरीले मुख खोलेको छैन ।

मोरङ प्रहरीले मुख्य योजनाकार भनिएका विराटनगर–८ का श्याम मुखियालाई पक्राउ गरी सार्वजनिक गरे पनि कति रकम फेला प¥यो केही सूचना बाहिर ल्याएको छैन । रकम नेपालमै छ वा भारत पुग्यो भन्ने विषयमा तैं चुप मैं चुपको अवस्था छ ।

मुखियासँगै प्रहरीले भारतको अररिया शेखपुरा बस्ने सुनिल यादव, गोराहा बस्ने विजय सहनी र फारबिसगञ्ज बस्ने रोशन यादवलाई पक्राउ गरेको छ । तिनीहरूको साथबाट दुई थान कटुवा पेस्तोल पनि बरामद गरेको छ ।
मोरङ प्रहरीले लुटिएको रकमको अवस्थाबारे केही थाहा नभएको बताएको छ । मोरङ एसपी जनार्दन जीसीले भने, ‘लुटिएको रकम फेला पार्न सकिएको छैन ।’

असोज २५ गते दिउँसो ४ बजे लुटेराहरूको समूहले बैंक लुटेका थिए । प्रारम्भमा ७ जनाको समूहले बैंक लुटेको बताइए पनि मोरङ एसपी जीसी लुटेराको संख्या ९ रहेको दावी गर्छन् । ९ जना लुटेरामध्ये एक जना दृश्यमा नआइसकेको भन्दै एसपी जीसीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिदैं बैंकको कुनै कर्मचारीको संलग्नता भने नभेटिएको बताए ।
एसपी जीसीले लुटिएको रकमबारे सोधीखोजी गर्दा केही थाहा नभएको जवाफ फर्काएका छन् । अपराधीलाई हरतरहबाट केरकार गरेर अपराधको भित्री तहसम्म पुग्ने मोरङ प्रहरीले लुटिएको रकमको अवस्थाबारे थाहा पाउन नसक्नु रहस्यको विषय बन्दै गएको छ । बैंकले किटान गरे अनुसारकै रकम हो वा त्योभन्दा घटीबढी जे भएपनि सोको अवस्थाबारे प्रहरीले सत्यतथ्य सार्वजनिक गरी पारदर्शिताको उदाहरण दिनुपर्ने धेरैको माग छ ।

लुटेराले बैंक भित्र पस्ने क्रममा गार्ड सितल कुमाललाई गोली समेत प्रहार गरेका थिए । प्रहरीले लुटेराले प्रयोग गरेको को २५ प ३८९९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल समेत बरामद गरेको थियो । एसपी जीसी मोरङ एसपीमा सरूवा भएर आए लगत्तै अपराधको ग्राफ ह्वात्तै बढेको छ । दिनदहाडै मेनरोडमा रहेको इलाका प्रहरी कार्यालय छेउ कोटेक्स टे«डिङ्गबाट हतियारधारी लुटेराको समूहले नगद लुटेर लगेको थियो ।

सो क्रममा साहू मनोज तोदीलाई घाइते समेत बनाएको थियो । प्रहरीले बैंक लुट्ने समूहले टे«डिङ्ग लुटेको दावी गरेको छ । जीसीको पद्स्थापन पश्चात अपराधीको मनोबल घट्नुको साटो बढेको देखिएको छ । त्यस्तैे अपराध नियन्त्रण भने अनुसारको देखिएको छैन ।

न्यू सृष्टि दैनिकसँग कुरा गर्दै एसपी जीसीले भने, ‘अपराधीले जहिलेपनि सजिलो छिद्र खोजी रहेको हुन्छ, बैंकमा चहलपहल कम भएको मौका छोपेर लुटेराले हर्कत गरेका हुन्, एउटा वा दुटा घट्नाले सिंगो सुरक्षा व्यवस्थामाथि प्रश्न गर्न मिल्दैन ।’ एसपी जीसीको कमजोर सुरक्षा रणनीतिकै कारण मोरङवासीले चाहे अनुसारको शान्ति सुरक्षाको प्रत्याभूति पाउन सकेका छैनन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!