

आशा झालाई जिताउने र “घण्टी” चुनाव चिन्हका लागि घरदैलो अभियान तीव्र पार्ने प्रतिबद्धता


बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर–५ मा आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ। आज रंगेली नगरपालिकामा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी १४२ जना स्थानीय रास्वपामा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई पार्टीका स्थानीय नेताहरूले स्वागत गर्दै आसन्न निर्वाचनमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए। कार्यक्रममा बोल्दै रास्वपा मोरङ–५ की उम्मेदवार आशा झा ले पुराना दलप्रति जनतामा बढ्दो निराशा नै नयाँ पुस्ताको विकल्प खोजीको कारण बनेको बताइन्।
“जनताले अब भाषण होइन, काम चाहेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन हाम्रो प्राथमिकता हो। मोरङ–५ मा देखिएको यो उत्साह परिवर्तनको स्पष्ट संकेत हो,” झाले भनिन्।
कार्यक्रममा बोल्ने नवप्रवेशीमध्ये एक स्थानीय युवाले आफूहरू देशमा नयाँ राजनीतिक संस्कार स्थापनाका लागि रास्वपामा आबद्ध भएको बताए।
“हामी आशा झालाई जिताउन र देशमा इमानदार नेतृत्व स्थापित गर्न दिनरात खटिनेछौं। अब गाउँ–गाउँमा ‘घण्टी’ को अभियान चलाउँछौं,” उनले भने।
रास्वपाले पछिल्लो समय मोरङ–५ अन्तर्गत विभिन्न पालिकामा प्रवेश कार्यक्रमलाई तीव्रता दिँदै आएको छ। पार्टीका नेताहरुको अनुसार युवापुस्ता र पहिलोपटक मतदान गर्न लागेका मतदातामा पार्टीप्रति आकर्षण बढ्दो छ।
आगामी दिनमा घरदैलो, टोलभेला र मतदाता भेटघाटलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको रास्वपाले जनाएको छ।