रौतहट जिल्लाको गौर नगरपालिका वडा नंबर ४ मा निर्माण भईरहेको लालबकैया पुल ७ बर्षमा पनि पूरा हुन सकेका छैन। पुलको निर्माणकार्य सम्पन्न गर्न ३ बर्ष समय अवधि थियो। गौर नगरपालिका वडा नंबर ४ टिकुलिया गाउँ भन्दा पश्चिम रहेको बकैया नदीमा पुल निर्माण गर्न पप्पु कन्स्ट्रक्सनलाई २०७१ साल असार १६ गते १६ करोड ८६ लाखमा ठेक्का सम्झौता गरि २०७४ साल असार २५ गते काम सम्पन्न गरि हस्तान्तरण गर्ने सम्झौता गरेको थियोे।
पुलको काम सम्पन्न नहुँदा १ बर्षको म्याद थप गरेको थियो। अर्थात् २०७५ साल असार २५ गते सम्पन्न गरि हस्तान्तरण गर्नु पर्ने थियो। पुल निर्माणकार्य सम्पन्न गर्न १ बर्ष म्याद थप्दा पनि ७ बर्षमा पुलको ५० प्रतिशत पनि कार्य नभएको स्थानीयहरुले बताएका छन्। सो पुलको काम अहिले सम्म मात्र पिलर ढलान गरि चार वटा पिलर जोड्ने माथिल्लो तहका सेन्टरीङ्ग गरि ढलान गरेको स्थानीयले बताएका छन्। पुलको माथिल्लो तल्ला ढलान गर्दा चर्किएको स्थानीयले बताए। पुल निर्माणकार्य कमर्सियल समान प्रयोग गर्दा पनि सम्बन्धित निकाय मौन बसेका छन्। क्षेत्र नंबर १ र क्षेत्र नंबर २ लाई जोड्न पुल निर्माणका लागि नेपाली कांग्रेस निकट तत्कालीन प्रधानमन्त्री शुशिल कोईरालाले शिलान्यास गर्नु भएको थियो। पप्पुको काम अहिले चारै तिर कछुवाको तालमा भईरहदा पनि सरोकारवालाले सो कन्स्ट्रक्सनलाई कालो सुचिमा नराखी ठेक्का दिईरहेका छन।
यस्ता कन्ट्रक्सनलाई लाईफटाइम कालो सुचीमा राख्न बर्तमान सरकार संग स्थानीयले माग गरेका छन् । पुलको कार्य समयमा सम्पन्न नहुँदा लगभग ४ बर्ष पहिला रक्षाबन्धनको एक दिन पहिला नदीमा बाढी आउँदा निर्माण भईरहेको पुलको पिलरमा डुङ्गा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी लगभग आधा दर्जन ब्यक्तिले ज्यान गुमाएका थिए। सो डुङ्गा घटना पछि जिल्ला अदालत रौतहटले कन्स्ट्रक्सनका संचालक सुमित रौनियारलाई पक्राउ गर्न पक्राउ पुर्जी पनि जारी गरेको थियो।
समयमा पुल निर्माणकार्य सम्पन्न नगर्दा र पुलकै कारणले नदीमा डुङ्गा दुर्घटना भएको कारणले छानबिन गर्नका लागि कन्स्ट्रक्सनका संचालक रौनियारलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो। तर रौनियार पक्राउ परेनन्। सो पुल निर्माण नहुँदा यस बर्ष पनि बाढीको बेला क्षेत्र नंबर १ र २ का जन्ताहरुलाई आवत जावत गर्न समस्या भईरहेका छन। त्सैगरी पुल निर्माणकार्य सम्पन्न गराउन सम्बन्धित निकायले कुनै चासो नदेखिएको स्थानीयहरुले बताउँछन्। पुल निर्माणकार्य भई रहदा पनि ईन्जिनियर अोभरसियरले कार्य स्थलको अवलोकन गर्न नआएको स्थानीयहरुले बताउँछन्। पुल निर्माणकार्य सम्पन्न नहुँदा बाध्यता बस कहिले डुङ्गा त कहिले पानी तैरिनु परेको स्थानीयहरुले बताउँछन्। जिल्लामा ठुल-ठुला नेता तथा मन्त्री बनी सकेका सांसदहरू हुँदा पनि चुनाव जिते पछि जन्ताहरु सुखदुःख बुझ्न अहिले सम्म हामी माझ नआएको स्थानीयहरुले बताउँछन्।