हिपमत डटकम

शुक्रबार, कार्तिक ०१, २०८२ || 10962  पटक पढिएको

काठमाडौं — नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेमाथि अन्तर्राष्ट्रिय शक्तिले योजनाबद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन्।

पार्टीको दशौं केन्द्रीय कमिटी बैठकमा शनिबार आफ्नो धारणा राख्दै बस्नेतले राष्ट्रवाद, समृद्धि र विकासका पक्षमा काम गरेकै कारण एमाले र ओलीलाई लक्षित गरेर विभिन्न गतिविधि सञ्चालन गरिएको दाबी गरे।

“अन्तर्राष्ट्रिय शक्तिहरूले ‘जेन–जी पुस्ता’लाई प्रयोग गर्दै राज्यका संवेदनशील संरचना र दस्तावेजमा प्रहार गर्ने काम भयो,” उनले बैठकमा भने, “नागरिकका निजी सम्पत्तिमा समेत क्षति पुर्‍याएर अर्बौंको क्षतिको अवस्था सिर्जना गरियो।”

उनले भदौ २३–२४ गते भएका प्रदर्शनहरूलाई स्वतःस्फूर्त नभई पूर्वनियोजित हमला भन्दै ती आन्दोलनको उद्देश्य संविधान, लोकतन्त्र र समृद्धिमा प्रहार गर्नु रहेको बताए।

बालेन, रवि र प्रचण्डमाथि आरोप

बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती आन्दोलनका ‘मुख्य मतियार’ को संज्ञा दिँदै उनीहरूलाई कारबाही गर्न माग गरे।

“ब्ल्याक इनर्जीको प्रतीक ‘लुसिफर’ का रूपमा चिनिने बालेन, जेल तोडेर आएका रवि र मौकामा चौका हान्ने प्रचण्ड ती आन्दोलनको अग्रपंक्तिमा छन्,” उनले भने, “उनीहरूलाई कानुनी कारबाही गर्नुपर्छ।”

नेतृत्व परिवर्तनको विरोध

बस्नेतले पार्टीमा नेतृत्व परिवर्तनको बहसलाई अनावश्यक भन्दै अध्यक्ष ओलीकै नेतृत्वमा एमालेलाई सुदृढ र एकताबद्ध बनाउनु पर्नेमा जोड दिए। उनले निष्क्रिय पदाधिकारीहरूको मूल्यांकन गरी संगठन पुनर्गठन गर्नुपर्ने र आन्दोलनमा सक्रिय देखिएका पार्टी कार्यकर्ताहरूमाथि अनुशासनात्मक कारबाही गर्नुपर्ने धारणा राखे।

उनले अध्यक्ष ओलीलाई आगामी ११औं महाधिवेशनसम्मका लागि पुनः सर्वसम्मत नेतृत्व दिनुपर्ने प्रस्तावसमेत राखे।

आन्दोलन अन्तर्राष्ट्रिय डिजाइनको हिस्सा भएको दाबी

बस्नेतका अनुसार, भदौको आन्दोलन नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय सञ्जाल अन्तर्गत सञ्चालन भएको हो। उनले यस्ता ‘जेन–जी आन्दोलन’हरू ११ देशमा भइसकेको उल्लेख गर्दै नेपालमा पनि समान शैली अपनाइएको दाबी गरे।

उनका अनुसार, आन्दोलनहरूमा एउटै प्रकारका झन्डा, डीस्कोर्ड एप्समार्फत सञ्चार, एनजीओ नेटवर्कको सक्रियता, लक्षित संरचना गुगल म्यापमा अपलोड, र आगजनीमा रासायनिक तत्वहरूको प्रयोगजस्ता गतिविधि देखिएका छन्।

वैकल्पिक नेतामाथि कटाक्ष

बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई वैकल्पिक नेतृत्वका रूपमा अगाडि सार्ने प्रयास पार्टीविरुद्ध हुने बताए। उनले विकल्प खोज्नेहरू नै पार्टीका लागि चुनौती भएको टिप्पणी गर्दै आफूहरू नै अबको विकल्प रहेको जिकिर गरे।

विशेष प्रतिवेदनलाई समर्थन

बस्नेतले अध्यक्ष ओलीले पेश गरेको विशेष प्रतिवेदनलाई पूर्ण समर्थन गर्ने धारणा व्यक्त गर्दै उक्त प्रतिवेदनलाई सर्वसम्मत पारित गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!