नरेन्द्र ढकाल बिर्तामोड झापा 

नेपाली जनताको ठूलो आशा र भारोसा बोकेका प्रधानमन्त्री केपी शर्मा ओली साँच्चै सर्वहारा जनताकै रहेछन् या पुँजीवादी दलाल र जनता शोषण गर्न पल्केका शोषकका नजिक रहेछन् भन्ने कुरा सत्ताको बागडोर सम्हालेको २१ महिनापछि छर्लङ्ग भएको छ ।

दुई तिहाईको वर्तमान सरकारले जनताको विकास र देशको समृद्धिमा ठूलै फड्को मार्ने अपेक्षा गरिएको थियो । तर, जनताको पक्षमा काम गर्ने मन्त्रीलाई कार्यसम्पादमा चित्त नबुझेको भन्दै वर्हिगमन गरिरहँदा आफू सर्वहारा जनताको कम्युनिष्ट प्रधानमन्त्री हुँ भन्न अब लाज लाग्नुपर्छ । मंसीर ४ गते गोकर्ण बिष्ट मन्त्रीबाट बिदा भएसँगै केही वैदेशिक रोजगारी र उद्योग व्यवसायमा लागेहरुको जीत भएको छ भने श्रमिकको हार भएको छ । यसले के पुष्टि गर्छ भने वर्तमान प्रधानमन्त्री दलाल र शोषण गर्न पल्केकाहरुबाट अझै पनि उन्मुक्त भएका छैनन् । उनलाई आफ्नै पार्टीभित्रका गलत ब्यक्तिहरुले अझै पनि जनतामारा काममा प्रयोग गरेर जनताको ढाड सेक्ने काम गरिरहेका छन् ।देशभित्रै रोजगारीको सिर्जना गर्दै बाध्यकारी वैदेशिक रोजगारीलाई कम गर्दै रोक्ने रणनीतिमा यतिबेला गम्भीर धक्का लागेको छ भने समग्र श्रमिकको हक र अधिकारमा अब के हुने हो भन्ने प्रश्न उठेको छ । मुख्यतः वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारको हक र अधिकारका लागि निरन्तर लडेका व्यक्ति थिए गोकर्ण बिष्ट ।

प्रधानमन्त्रीज्यू एकपटक तपाई जनताको नेता हो भने विमान स्थलमा गएर एक दिनमा कति वटा नेपालीका लाशका बाकस आउँछ हेर्नु होला । के विदेशमा जानेलाई कडाई गर्दै यहाँ मान्छे बेच्न पल्केकाहरुलाई कानूनी कठघरामा उभ्याउनु मन्त्री बिष्टको गल्ती थियो ?

स्वदेशमै पनि अदृश्यरूपमा काम गर्न बाध्य कामदार, बाध्यकारी श्रम गर्न बाध्य भएकाहरु र न्यून ज्याला लिएर काम गर्न बाध्य श्रमिकका लागि मन्त्री बिष्टले सुनौलो दिनको सपना देखाएका थिए । सामाजिक सुरक्षा कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिकको न्यूनतम् सेवा र सुविधा, इन्स्योरेन्स आदिको सम्बन्धमा मन्त्री बिष्टले केही आशालाग्दा योजना र कार्यान्वयन गरेका थिए । तर, उनको बहिर्गमनसँगै यी योजना र नीतिको निरन्तरता हुन्छ कि हुँदैन भन्ने शंका उब्जेको छ ।

होला राम्रो काम गरे पनि चर्चामा नआएका मन्त्री बिष्टलाई हटाउँदा दलालको चङ्गुलमा फसेर प्रधानमन्त्री ओलीले दलाल र शोषकको पक्षमा निर्णय गरेको स्पष्ट हुन्छ । कार्यसम्पादनमा दोश्रो नम्बरमा रहेका मन्त्री बिष्ट कसरी असक्षम भए प्रधानमन्त्रीज्यू उत्तर छ ?

मन्त्री भए पनि सँधै श्रममन्त्रीका रूपमा २१ महिना काम गरेका गोकर्ण बिष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य तथा श्रमिकका हकमा काम गर्ने धेरै कोशिस गरेका थिए । प्रधानमन्त्री कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा पनि उच्च अङ्क पाएका मन्त्री बिष्ट यतिबेला ‘कमजोर कार्यसम्पादन’ भन्दै पदमुक्त गरिए । यसमा वैदेशिक रोजगारमा संलग्न र उद्योग तथा प्रतिष्ठानमा रहेका ‘माफिया’हरुको भूमिका ठूलो रह्यो भने प्रधानमन्त्रीसँग राजनीतिक तथा वैचारिक अन्तरविरोध नै उनको दुर्भाग्य रह्यो । सर्वहारा जनताको पक्षमा काम गर्ने प्रधानमन्त्रीको अभिब्यक्तिलाई वाह ! भन्न मन लाग्यो ।

२०७५ जेठ २ गते मन्त्री भएको दुई महिना पुगेकै दिन श्रममन्त्री बिष्टले मलेसिया रोजगारीको सिण्डिकेट तोडेको घोषणा गरे । मलेसिया रोजगारीमा सिण्डिकेट खडा गरेर सञ्चालनमा रहेका माइग्राम्स, बायोमेट्रिक, आईएस्सी, भीएलएन र वान स्टप सेन्टर खारेज गरेको घोषणा गरे । त्यसलगत्तै मलेसिया रोजगारीको प्रक्रिया अवरुद्ध भयो । मलेसियामा भएका विकृतिविरुद्ध खरो रुपमा उत्रिएका मन्त्री बिष्टलाई मेनपावरका दालालहरुले रामैसँग विरोध नगरेका होइनन् । एकपछि अर्को राम्रको काम गर्दै जनता र श्रमिकको मन जित्न सफल बिष्ट अन्ततः आफ्नै पार्टीका दलालको सिकार बन्न पुगे ।

मलेसिया रोजगारीको ‘लुट’मा धक्का लागेपछि अधिकांश मेनपावर व्यवसायीले रोजगारी बन्द गराएको र खुलाउने प्रयास नगरेको भन्दै उनीविरुद्ध राजनीतिक, आर्थिक र सामाजिक आक्रमण गर्न थाले । मन्त्रीलाई हटाउनका लागि केही व्यवसायीहरुले चन्दा संकलन गरेको चर्चा पनि चुलियो । तर, आफ्नो इमान्दारितामा एक इञ्च पनि नहलिएका मन्त्री बिष्टलाई सर्वहारा प्रधानमन्त्री ओलीले चिन्न सकेनन् । जनताको पक्षमा काम गरेर वाह ! वाही ! पाएका मन्त्री बिष्टकै कारण धेरै दलालहरु पलायन हुने स्थितीमा पगेका थिए । तर, उनको वर्हिगमनसँगै दलालहरु सलबलाउन थालेका छन् ।

शहरका विभिन्न स्थानमा कोठा भाडामा लिएर सोझा साझा जनतालाई पासर्पोट दराजमा थन्कियाएर लुट्न पल्केकाहरुको दिन फर्किएको छ । कहिले सामाजिक   सञ्जालमा स्टाट्स नै लेखेर खुशीयाली मनाउँदै प्रधानमन्त्रीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीज्यू दलालको बधाईभन्दा गरीब जनताको आशीर्वाद तपाईको कार्यसम्पादनमा सबैभन्दा महत्वपूर्ण हुने थियो । तर, यो विषयमा तपाईले एकपटक पनि सोच्न नसक्नु तपाईको कार्यकालकै सबैभन्दा ठूलो दुर्भाग्य हो । आखिर तपाईले पनि दलाल र शोककै पक्ष पोषण गर्नुभयो त्यसैले भन्न मन लाग्यो– वाह ! प्रधानमन्त्रीज्यू कम्युनिष्ट सरकार सर्वहारा जनताकै रहेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!