नेकपा (एमाले) को लामो समयदेखि चलेको आन्तरिक विवाद समाधानतर्फ अघि बढेको छ। आज भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको चार घण्टा १० मिनेट लामो वार्ता सकारात्मक रहेको स्वयम नेता नेपालले प्रतिक्रिया दिएका छन् ।
उनले सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टरेको पनि बताएका छन् । अध्यक्ष ओली र नेता नेपालबीच २०७५ जेठ २ गते पार्टीलाई फर्काउने र फागनु २८ गतेयता गरेका निर्णय फिर्ता लिने विषयमा कुराकानी भएको थियो । यी दुवै विषयमा प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको टिप्पणी छ । र, अब विभिन्न तहमा यी विषय टुँग्याउनेगरि छलफल हुनेपनि उनले जनाएका छन् ।
उनले भने हामीहरुबीच भेटघाट र कुराकानी भए, आ–आफ्नो कुरा र सोचाई राख्यौं । बैशाख २६ गते जारी गरेको अध्यक्ष केपी ओलीलई पठाएको पत्रमा, ६ बुँदे प्रस्तावमा छलफल गरियो । फागुन २८ गतेको निर्णय फिर्ता गर्ने, सर्वोच्चको फैसलाअनुसार २०७५ जेठ २ गते फर्काउने, कुरा जारी छ । विभिन्न तहमा कुराकानी अघि बढ्छन् । राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो । मिल्ने दिशामा अघि बढ्न खोजेका छौं । राजीनामा दिने कुरा थियो । दुई चार दिनलाई टर्यो । विवाद अब सहमतिको आधारमा टुँगो लाग्छ ।
नेपाल पक्षको राजीनामा टरेसँगै अब प्रधानमन्त्रीमा ओली नै नियुक्त हुनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको लागि गरेको आह्वानको समय आज राति ९ बजे सकिँदैछ । नेपाली कांग्रेसले सरकार गठनको दाबीमा नजाने निर्णय गरिसकेको छ । यो सँगै अब राष्ट्रपतिले संविधानको धारा ७३ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको रुपमा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । तर, ओलीले जसपाका १८ जना सांसदको साथ लिन सके भने धारा ७६ को २ अनुसार पनि सरकार गठन गर्नसक्ने अड्कलबाजी भैरहेका छन् । त्यो हेर्न अब कम्तिमा पनि ९ बजेसम्म कुर्नुपर्ने हुन्छ ।
नेता नेपाल पक्षका सांसदहरुलाई राजीनामा दिनबाट रोक्न सफल भएपनि ओलीको सत्तामा रहने कि नरहने भन्ने कुरा विश्वासको मत लिने समय अर्थात एक महिनासम्म उनले नेता नेपालसँग कस्तो सहमति गर्छन् ? त्यसमा निर्भर रहन्छ ।
नेता नेपालले पनि आज ओलीसँगको वार्तापछि राजीनामा दिई चार दिनलाई टरेको भनेका छन् । यसको संकेत एक महिनासम्म सहमतिको लागि इमानदार प्रयास गर्ने तर ओली ईमानदार नभए विश्वासको मत लिने बेला अहिलेकै सिन दोहोर्याउने नेपाल नेपालको रणनीति छ ।
सहमतिको लागि नेता नेपालले राखेका अडानमा ओली सहमत हुनु भनेको ओलीले सम्झौता गरेको भन्ने बुझिन्छ । तर, नेपाली राजनीतिमा ओली आफ्नो अडानमा टसमस नहुने नेताको रुपमा परिचित छन् । उनले सरकारको अहिलेको खड्को टार्नमात्रै नेता नेपालसँग सम्झौता गरेको कतिपयले विश्लेषण गरेका छन् । कतिपयले ओली र नेपालसँगको सहमतिलाई अस्थायी सहमतिको रुपमा पनि चित्रण गरेका छन् ।
नेता नेपालले अब विभिन्न तहमा छलफल हुने जनाएका छन् । नेपाल पक्षले आज साँझ ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । चार बजेभित्र पनि सहमति नभए राजीनामा दिने चेतावनी दिएको थियो । तर, नेपाल भने ओलीसँग तीन दिउँसै भेटवार्तामा जुटेका थिए । ओलीसँग नेपालको चार घण्टा लामो छलफल भएको थियो । उनीहरुबीच फेरि कहिले भेटवार्ता हुन्छ ? भन्ने कुरा खुलाईएको छैन् । तर, नेपालले चरणबद्ध र विभिन्न तहमा छलफल हुने बताएका छन् ।