हिक्मत श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय समिति चयन
पथरी शनिश्चरे । पथरी शनिश्चरेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। नगर अधिवेशनले हिक्मत श्रेष्ठको सभापतित्वमा १३ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको छ।
पथरीस्थित नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित अधिवेशन तदर्थ समितिकी कार्यवाहक सभापति गिता लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रास्वपाका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटी, झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा निर्वाचन लडेका सुरेश पोख्रेल, कोशी प्रदेश महामन्त्री लालविक्रम थापा, कोषाध्यक्ष चन्द्र राई, बेलबारी–८ का स्वतन्त्र वडाध्यक्ष धनपति गौतमलगायत नेताहरुको उपस्थिति थियो।
अधिवेशनमा रास्वपाकी चर्चित नेतृ सुमना श्रेष्ठको सहभागिता अपेक्षित भए पनि संसदको नियमित कार्यसूचीका कारण उपस्थित हुन नसकी उनले भिडियो सन्देशमार्फत अधिवेशनको सफलताको शुभकामना व्यक्त गरिन्।
नवगठित नगर कार्यसमितिमा गिता लिम्बू उपाध्यक्ष, तुलसी गौतम सचिव, ओमप्रसाद लिम्बू सहसचिव चयन भएका छन्। अन्य सदस्यहरुमा दिलबहादुर तामाङ, सुनिता खड्का, तेजबहादुर खड्का, अमर नेपाली, कल्पना ढुंगाना, रमेश खत्री, लक्ष्मी श्रेष्ठ, टीका धिमाल र ओमनाथ नेपाल रहेका छन्। समितिमा एक जना सदस्य पछि मनोनीत गरिने जनाईएको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विभिन्न राजनीतिक दल परित्याग गरेर १०० भन्दा बढी व्यक्तिले रास्वपामा प्रवेश गरेका छन् भने “रवि लामिछानेको न्यायका लागि” भन्दै ३०० भन्दा बढीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले, “राज्यले प्रतिशोध साँध्दै सभापति रवि लामिछानेलाई थुनामा राखेको छ,” भन्दै भ्रष्टाचार, बेथिति र अन्यायका विरुद्ध एकजुट भई संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
पथरी शनिश्चरेको नगर राजनीतिमा रास्वपाको सशक्त उपस्थितिले नयाँ तरंग ल्याएको विश्लेषण गरिएको छ ।