हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 488  पटक पढिएको

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा गम्भीर ढंगले काम गर्न ध्यानाकर्षण गराएका छन् ।

बानियाँले विज्ञप्ति प्रकाशित गर्दै प्रदेशका नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गरेका हुन् । बढ्दो कोरोना संक्रमणका नियन्त्रणका लागि भन्दै सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेका कारण जनताहरु समस्यामा परेको र उक्त समस्या समाधानका लागि आवश्यक कदम चाल्न उनले प्रदेश सरकारसँग माग गरे । प्रदेश सरकारसँग जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध एवं राहतको व्यवस्था मिलाउन विज्ञप्तिमा भनिएको छ ।

सरकारले कोरोना महामारीसहित सबै खाले महामारीका बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अस्पताल बेड, आइसियु बेड, अक्सिजन र भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीहरुको पर्याप्त मात्रामा तत्काल समुचित व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

त्यस्तै सम्पूर्ण जिल्लाहरुमा संक्रमितहरुको कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउन, सम्भावित बिरामीहरुको पिसीआर परीक्षणलाई व्यापक बनाउनु पर्ने तथा कोरोना संक्रमण जोखिम न्युनिकरण अभियान स्वास्थ्यकर्मी र कर्मचारी प्रशासनको प्रयासबाट मात्रै सम्भव नहुने भएकाले जनप्रतिनिधिसँग सहकार्यका लागि संयन्त्र तयार पार्नेसमेत विज्ञप्तिमा भनिएको छ ।

प्रदेशका विभिन्न नाकाहरुमा स्वास्थ जाँचका लागि हेल्थ डेस्क राखी परीक्षण गर्ने व्यवस्था मिलाउन, शंकास्पदलाई होल्डिङ केन्द्रमा राख्ने व्यवस्था गर्न साथै प्रदेशका सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न उनले माग गरेका छन ।

स्वास्थ्यकर्मी , सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई बिमा एवं जोखिम भत्ता तत्काल कार्यान्वयन गर्नुपर्ने, बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्नुपर्ने, कोरोना जोखिम न्यूनिकरणका लागि प्रदेशमा रहेको विपद व्यवस्थापन कोष र कोरोना रोकथाम, नियन्त्रण एवं उपचार कोषको तत्काल प्रभावकारी परिचालन गर्नुपर्ने, स्वास्थ्य सामग्री र खोप खरिदका क्रममा भएका अनियमितताबारे छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गर्नुपर्ने, लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवतजावतलाई सहज गराइनुपर्ने, विदेश जानेहरूलाई आवश्यक पिसीआर परीक्षण गर्ने अस्पतालहरूको संख्या बढाइनुपर्ने माग गरिएको छ । लकडाउनका कारण दैनिक ज्याला गरी खाने श्रमिक वर्गलाई पौष्टिक आहारका लागि राहतको व्यवस्था मिलाइनु पर्ने र साना, घरेलु एवं स्वरोजगार मुलक व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

उनले आम नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्डको अवलम्वन गर्न आग्रह गर्दै प्रशासनलाई कडाइका साथ लागू भए नभएको अनुगमन गर्न आग्रह गरेका छन् ।

कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दल संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्यका लागि तत्पर रहेको अवगत गराउँदै उनले यस रोगबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!