जन्मेपछि मर्नै पर्छ
म पनि जन्में हुर्कें र
निकै कालसम्म घाम पानी सहँदै
चरा चुरुंगीलाई गास दिएँ आस दिएँ
आउने जाने बटुवालाई शितल छहारी
अनि बास दिएँ
मेरै छेउबाट उत्तर दक्षिण
पूर्ब पश्चिम मार्ग बनाएँ
म भएकै कारण हो
चौबाटोको नामकरण भयो-बरगाछी
म बरगाछी
अझ झाङ्गिन बाँकी नै थियो
ब्याधालाई बाधक भएछु क्यार
बन्चरा फेद मै बजार्यो
र ढाल्यो मलाई
अफशोच, मेरो अभावको पूर्ती
ब्याधाले गर्न सकेनछ
जब कि म बाटाको छेउमा थिएँ
अनि मेरो नामको कंक्रिटको
बेजान बेकामको मूर्ती ठड्यायो
सडकको बीचमा
चौबाटाको बीचमा र भनियो
यो बरगाछी हो
बाग उजाडे पछि कहाँ पाइन्छ र
कागजको फूलबाट गुलाबको सुगन्ध
आज एउटा अन्धोले फुकेरै ढालिदियो
कृत्रिम बरगाछी
जसरी घरबाट निकालिएको हजूरबा को नाम
तीनपुस्ते सनाखतमा कोर्नु बाध्यता हुन्छ
आज मेरो नामको चौक फगत नामको छ
न शितल न छहारी
फाँडेको वन जस्तो सपाट छ
मानौं सिन्दुर पुछिएको विधवा जस्तो
निस्तेज, मलीन र अनाथ जस्तो
यद्यपि ब्याधाले अझै निसाना लगाई रहेछ
कमिशन रूपी चरा माथि
म बरगाछी निर्वस्त्र ढलेको छु
मुर्दा झैं लडेको छु
जसरी शान्ति आउने आशामा
स्वयम्भूको दुईआँखा खुल्ला छन्
मेरो पनि एउटै अन्तिम इच्छा छ
यहाँ पुन: रोपियोस् बरगाछी ।
शिवनारायण पण्डित (सिंगल)