सुर्खेत । अक्सिजन नपाएर संक्रमितको मृत्यु हुन थालेपछि कर्णाली प्रदेश सरकार यसको व्यवस्थापनमा लागेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही सोमबार प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन गर्न आफैं खटिए। मुख्यमन्त्री शाहीकै पहलमा अहिले प्रदेश अस्पतालमा नयाँ अक्सिजन प्लान्ट सुरु भएको छ।
दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट सञ्चालन गरिएको हो। यससँगै कोराना संक्रमितको उपचारमा केही सहज भएको छ। कर्णालीमा संक्रमितको संख्या र मृत्युदर बढ्दो छ। तर, सुर्खेत र जुम्लाबाहेक अरू जिल्लामा संक्रमितका लागि भरपर्दो उपचार सेवा छैन। यसकारण पनि गम्भीर प्रकृतिका संक्रमित उपचारका लागि प्रदेश अस्पताल आउने गरेका छन्। अक्सिजन दिनुपर्ने संक्रमितले भरिएपछि अस्पतालमा अक्सिजनको हाहाकार भएको थियो।
अब अक्सिजन अभावमा कुनै पनि संक्रमितको मृत्यु नहुने दाबी प्रदेश सरकारले गरेको छ। प्लान्ट सञ्चालन नहुँदा कर्णालीमा नेपालगन्जबाट अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता थियो। तर, अब प्रदेश अस्पतालको आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै तत्काललाई अक्सिजनको अभाव टरेको छ।
‘अब आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आयो, यसले ठूलो राहत मिलेको छ’, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘तत्काललाई संक्रमितको उपचारमा पनि सहज हुन्छ।’
अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट छन्। नयाँ अक्सिजन प्लान्टबाट दैनिक १ सय सिलिन्डर उत्पादन हुन्छ। पुरानो प्लान्टले दैनिक पाँचदेखि दश सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्दछ। अक्सिजन उत्पादन सुरु भए पनि नेपालगन्जबाट आपूर्ति कार्य भने रोकिनेछैन। ‘अस्पतालको उत्पादनले ५०–६० जना संक्रमितलाई धान्छ। तर संक्रमित बढ्ने क्रम रोकिएको छैन’, अस्पतालका कोरोना फोकल व्यक्ति डा. केएन पौडेलले भने, ‘संक्रमितको दरअनुसार अझै दैनिक १ सय सिलिन्डर नेपालगन्जबाट आपूर्ति गर्नुपर्छ।’
बढ्दो संक्रमणको दर र अन्य बिरामीको उपचारका लागि नेपालगन्जबाट अक्सिजन आपूर्ति कायमै हुने पौडेलले बताए। प्रदेश सरकारले भने प्रदेशमै थप अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइने जनाएको छ। ‘अक्सिजन अभावमा अब कोही पनि संक्रमितको प्राण जाँदैन। हामी सबै जिल्लामा अक्सिजनको व्यवस्थापन गर्छौं’, प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले भनिन्, ‘यसका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय पनि भइसकेको छ।’