हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 704  पटक पढिएको

नयाँदिल्ली — पश्चिम बंगालको विधानसभा चुनावमा मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीले पार्टीलाई ठूलो जित दिलाए पनि आफै भने चुनाव हारेकी छिन् ।

नन्दिग्राम विधानसभा क्षेत्रको अन्तिम मतपरिणाम अनुसार भारतीय जनता पार्टीका सुवेन्दु अधिकारीले १७ सय ३६ मतले मुख्यमन्त्री बनर्जीलाई पराजित गरेका हुन् । अधिकारीले १ लाख ९ हजार ६ सय ७३ मत प्राप्त गर्दा बनर्जीले १ लाख ७ हजार ९ सय ३७ मत प्राप्त गरिन् ।

पश्चिम बंगालमा विभिन्न आठ चरणमा विधानसभा चुनाव भएको थियो । मतगणनाअनुसार ममताको पार्टी तृणमूलले भारी बहुमतसहित लगातार तेस्रो पटक सरकार बनाउने भएको छ । पछिल्लो मतपरिणामअनुसार टीएमसीले २९४ (चुनाव भएको २९२) विधानसभा सीट मध्ये २१६ मा अग्रता लिएको छ । भारतीय जनता पार्टी भने ७४ सिटमा अगाडि छ । तर, टीएमसी प्रमुख ममता आफै भने चुनावमा पराजित भएकी छिन् ।

कोलकातामा ममताको जितको खुसी मनाउन सुरु भइसकेको थियो । विभिन्न पार्टीका नेताले ममतालाई जितका लागि बधाई समेत दिएका थिए । तर, निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्दै सुवेन्दुले चुनाव जितेको घोषणा गरेको छ । भारतीय सन्चारमाध्यमहरुका ममताले निर्वाचन आयोगले पहिले चुनाव जितेको बताएर अन्तिम नतिजामा हारेको देखाएको भन्दै आक्रोश पोखेकी छिन् । ममताले पत्रकार सम्मेलनमा नन्दिग्राममा बीजेपीले धाँधली गरेको आरोपसमेत लगाएकी थिइन् । त्यस्तै निर्वाचन आयोगको कदमविरुद्ध अदालत जाने पनि उनले बताएकी छिन् ।

त्यसो त ममताको नन्दीग्रामको उम्मेदवारीलाई पहिलेदेखि नै निकै जोखिमपूर्ण ठानिएको थियो । किनभने नन्दीग्राम सुवेन्दुको पकड क्षेत्रमा रुपमा चिनिँदै आएको थियो । त्यसका कारण टीएमसी छाडेर भाजपा गएका सुवेन्दुविरुद्ध ममताको उम्मेदवारीलाई निकै जोखिमपूर्ण ठानिएको थियो ।

ममताको नन्दीग्रामबाट चुनाव लड्ने निर्णयले सबैलाई आश्चर्यमा पारेको थियो । सँगै जोखिमपूर्ण पनि । तर, केही राजनीतिक विश्लेषकहरुले ममताको उक्त निर्णयले टीएमसीका कार्यकर्तामा ऊर्जा भरेको र भाजपाको हिन्दु/मुस्लिम धु्रवीकरणको राजनीतिक कमजोर बन्न पुगेको दावी गरेका थिए । पश्चिम बंगालको राजनीतिमा ममताको उदयमा नन्दीग्राम र सिंगुर क्षेत्रको निकै ठूलो भूमिका छ । करिब तेह्र वर्षअघि नन्दीग्राम र सिंगुरमा स्थानीय किसानहरुको जमिनमा ठूला उद्योग लगाउने तत्कालीन वाममोर्चा सरकारको निर्णयको विरुद्धको आन्दोलनको अगुवाइ ममताको नेतृत्वमा टीएमसीले नै गरेको थियो ।

आन्दोलनका क्रममा भएको हिंसामा सयौंको ज्यान गएको थियो । त्यही हिंसाका कारण सन् २०११ विधानसभामा सत्तारुढ वाममोर्चाले नराम्रो हार व्यहोर्नु पऱ्यो । त्यसयता टीएमसीले लगातार पश्चिम बंगालमा सरकारको नेतृत्व गर्दे आएको छ । त्यसकारण पनि ममताको नन्दीग्रामबाटै चुनाव लड्ने निर्णयलाई राजनीतिक सन्देशका हिसाबले पनि निकै अर्थपूर्ण ठानिएको थियो । पार्टीले हासिल गरेको चुनावी सफलताले ममताको उक्त निर्णयलाई सही ठहऱ्याए पनि उनी आफै भने पराजित हुन पुगेकी छिन् ।

हारका बाबजुद पनि ममता नै पश्चिम बंगालको आगामी मुख्यमन्त्री बन्ने आकलन गरिएको छ । उनले मुख्यमन्त्री पदमा शपथ लिएको ६ महिनाभित्र विधानसभा सदस्यमा निर्वाचित हुनुपर्नेछ । त्यसका लागि पार्टीका कुनै विधायकलाई राजीनामा गर्न लगाएर ममता त्यस क्षेत्रबाट चुनाव लडेर जित हासिल गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!