जनकपुर । प्रदेश २ मा कोरोना संक्रमणको दोश्रो लहरले विस्तारै विस्तारै विकराल रुप लिन थालेको छ । वैशाखको सुरुवातमा प्रदेशका ८ वटा जिल्लामा न्यून संक्रमित रहे पनि मध्यतिर आइपुग्दा संक्रमण दर निकै बढेको छ ।
प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका र सीमा क्षेत्रमा कडाइ नगरिएका कारण दुई साता यता प्रदेशमा संक्रमण दर उल्लेख्य बढेको जानकारहरुको भनाइ छ ।
वैशाख ४ गतेको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा एन्टिजेन विधिबाट ६ वटा नमुना परिक्षण गर्दा एकजनामा पोजेटिभ पाइएको थियो । यस्तै आरटी पिसिआर विधिबाट २० वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण फेला परेको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए ।
यो क्रम दिनानुदिन तीव्र रुपमा बढ्दै हाल प्रदेशमा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना संक्रमितमध्ये कतिपयलाई आईसीयूमा राख्नुपर्ने अवस्था छ भने केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने देखिएको छ ।
तर प्रदेश २ का अधिकांश सरकारी अस्पतालमा भेन्टिलेटर भए पनि तिनलाई सञ्चालन गर्ने जनशक्ति नहुँदा बिरामीहरु उपचारबाट वञ्चित हुनु परेको छ । भेन्टिलेटर चलाउने दक्ष प्राविधिक नहुँदा विभिन्न अस्पतालका भेन्टिलेटर प्रयोगविहीन बन्दै गएको छ ।
प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारण जुनसूकै बेला ओहोरदोहोर भएको र वैदेशिक रोजगारीमा जानेको संख्यासमेत सबैभन्दा बढी रहेकाले यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा छ । प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्ण रुपले तम्तयार रहेको बताए पनि चिकित्सक भने अझै प्राविधिक रुपले तयार हुन नसकिरहेको बताउँछन् ।
सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखा प्रमुख नबल झाले प्रदेश २ मा ४५ वटा भेन्टिलेटर उपलब्ध रहेको जानकारी दिए । तर ती भेन्टिलेटर चलाउने दक्ष जनशक्ति अभाव रहेको उनको भनाइ छ । उनले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा मात्रै भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति रहेको जानकारी दिए ।
प्रादेशिक अस्पताल जनकपुरधाममा जसोतसो भेन्टिलेटर चलिरहेको छ । स्वास्थ्य महाशाखाका प्रमुख झाले अन्य अस्पतालमा भेन्टिलेटर रहे पनि चलाउने जनशक्ति पर्याप्त नरहेको बताए । उनले भने, ‘कतिपय अस्पतालमा आईसीयू तथा एचडीयूको व्यवस्था रहे पनि जनशक्ति अभावमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।’
उनका अनुसार नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेशनल मेडिकल कलेजमा १० र प्रादेशिक अस्पताल जनकपुरधाममा ७ वटा भेन्टिलेटर छन् ।
त्यस्तै महोत्तरीको जलेश्वर अस्पतालमा ५, सप्तरीको राजविराजस्थित अस्पतालमा ४, बाराको कलैयास्थित अस्पतालमा २, रौतहटको गौरस्थित अस्पतालमा ४, सिरहा अस्पतालमा २ र लहानस्थित अस्पतालमा १ थान भेन्टिलेटर छन् ।
यस प्रदेशमा ७१ शय्या आईसीयूको व्यवस्था रहेको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए । उनले नारायणी उपक्षेत्रीय अस्पतालमा १५, वीरगंजको नेशनल मेडिकल कलेजमा २६, प्रादेशिक अस्पताल जनकपुरधाममा १०, रौतहटको गौर अस्पतालमा १० वटा आईसीयू बेड रहेको जानकारी दिए । यस्तै, जलेश्वरमा ५ र सिरहामा ५ शय्याको आईसीयू रहेको उनले बताए ।
प्रदेश २ मा १८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) को व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । उनका अनुसार वीरगंजस्थित नेशनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ शय्याको एचडीयू छ । त्यस्तै नारायणी उपक्षेत्रीय अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम र राजविराजस्थित अस्पतालमा २५÷२५ शय्याको एचडीयू छ । अन्य जिल्लास्थित अस्पतालमा १५÷१५ शय्याको एचडीयूको व्यवस्था गरिएको प्रमुख झाले बताए ।
प्रदेश २ मा अहिले कुल १ हजार ४३६ जना कोरोना संक्रमित छन् । तीमध्ये पर्सामा मात्रै ८०५ जना कोरोना संक्रमित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सोमबारसम्म बारामा १५९, धनुषामा १४०, रौतहटमा ९१, महोत्तरीमा ४५, सिरहामा २४, सप्तरीमा २७ र सर्लाहीमा १३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ । रातोपाटिमा किरण कुमार कर्णले लेखेको समाचार ।