देवानगञ्ज । कोरोना संक्रमणको दर फेरि बढ्दै गएपछि संक्रमणको जोखिम न्युनीकरण गर्न सुनसरीमा डिसिसिएमसि बैठकले जिल्लाका विद्यालयहरु १४ गते बाट बन्द गर्न सबै स्थानीय तहहरुलाइ आग्रह गर्ने निर्णय गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । आइसोलेसन सेन्टरहरु तीन दिन भित्र तयार राख्न स्थानीय तहलाइ अनुरोध गरेको छ ।
कोभिड-१९ को संक्रमण दैनिक बढ्दै गइरहेको हुदा जिल्लामा विकराल स्थिति आउन सक्ने रहेकोले जिल्लामा संचालित सम्पुर्ण सरकारी तथा निजी विद्यालयहरु, कलेज,ट्युसन सेन्टर, तालिम केन्द्र १४ गते बाट पुर्ण रुपले बन्द गर्नु पर्ने तथा शिक्षा मन्त्रालयको निर्देशन अनुसार बैकल्पिक शिक्षण सिकाइ प्रविधि प्रयोग गरी संचालन गर्न पाउने जानकारी प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनु भयो ।
यसैगरी सबै सरकारी, गैरसरकारी, वित्तीय संस्था बैंक आदिमा भिडभाड हुन नदिन, दुरी निर्धारण गर्न, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालनाका साथै सर्वसाधारणलाइ मर्का नपर्ने गरी आलोपालो सेवा उपलब्ध गराउने व्यवस्था सम्बन्धित कार्यालयले मिलाउनु पर्ने, ठाउँ ठाउँमा नियमित लाग्ने हाट बजार लगाउने कार्य सके सम्म निरुत्साहित गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाइ अनुरोध गरेको बताउनुभयो ।
सार्वजनिक यातायात र मुख्य बजार तथा राजमार्ग अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहने गरी अनुगमन समिति गठन गरेर तत्कालै कार्य प्रारम्भ गर्नु पर्ने, जिल्ला भित्र रहेका ठूला उद्योग तथा कलकारखानाहरुमा कार्यरत कामदार / कर्मचारीको कम्तीमा १० प्रतिशतको संख्या रहन सक्ने गरी अनिवार्य क्वारेन्टाइन/ आइसोलेसन कक्ष गर्ने, सो को अनुगमन स्थानीय प्रहरीले गर्नु पर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका कमल थापाले बताउनुभयो ।
जिल्ला प्रमुख ढकालका अनुसार जिल्लामा संचालमा रहेका अक्सिजन उद्योगहरुको उत्पादन बिक्री र माग एवं आपूर्तिको स्थिति जिल्ला प्रशासन कार्यालय बाट अनुगमन गर्ने र नजिकमा रहेका नेपाल प्रहरीका युनिटहरुले सो को नियमित रिपोर्टिङ गरी सम्बन्धित निकाय सम्म पुर्याउनु पर्ने बताउनुभयो ।
मस्जिद, मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरमा भिडभाड हुन नदिन सम्बन्धित समितिहरु सँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन सबै स्थानीय तहलाइ अनुरोध गरेको जानकारी जिल्ला प्रमुख ढकालले बताउनुभयो ।
डिसिसिएमसिले एक हप्ता अघि सोमबार बसेको बैठकले भारतबाट लुकीछिपी जिल्ला भित्रिने अवस्थामा रोक लगाउने तथा जिल्ला भित्रिएक व्यक्तिको विवरण सम्बन्धित वडाले लिई पालिकामा जानकारी गराउन अनुरोध गर्ने पनि निर्णय भएको थियो । विगतमा सञ्चालन भएको आइसोलेसन सेन्टर र क्वारेन्टाइनहरुलाई व्यवस्थित गरी प्रयोग गर्न सकिने अवस्थामा ल्याउन पालिकाहरुलाई अनुरोध गर्ने पनि निर्णय गरिएको थियो ।