भरतपुर महानगरपालिका – २१ कान्छी चोकस्थित सडकमा ना.७ ख ८११९ नम्बरको टिपरले साईकललाई आइतबार बिहान ठक्कर दिँदा साईकलयात्री भरतपुर महानगरपालिका(१९ बस्ने ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन भरतपुर महानगरपालिका-१७ बेलवास्थित सडकमा ना.५ त १७४९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय भक्त बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी डडेल्धुरा अजयमेरू गाउँपालिका-२ पान्नोलास्थित सडकमा से।२ त १४७२ नम्बरको ट्याक्टर सडकबाट ६ फिट तल खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक कैलाली गौरीगंगा नगरपालिका-१ बस्ने ३० वर्षीय प्रेम खड्काको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सह(चालक चुरे गाउँपालिका बस्ने १६ वर्षीय पवन सिजापतीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।