बुधबार सेयर बजारमा ३२ अंकको पहिरो गएको छ। ३२. ४१ अंकले घटेर परिसूचक नेप्से २६३२ अंकमा कायम भएको छ।
यस दिन ५ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु घटेका छन्। बैंकिङ २४, ब्यापार १, होटल तथा पर्यटन २०, विकास बैंक ६१, जलविद्युत २९, फाइनान्स २०, निर्जीवन बीमा १५४, उत्पादन ८२, अन्य १७, माइक्रोफाइनान्स ५६ र जीवन बीमा १४५ अंकले घटे।
यस दिन ज्योति लाइफ, महिला लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको मूल्य करिब १० प्रतिशतले बढेको छ।
आजको कारोबारपछि ज्योतिको मूल्य प्रतिकित्ता ८२६ रुपैयाँ, महिलाको १७६६, ग्रीनको २११ र हिमाल दोलखाको मूल्य १६८ रुपैयाँ पुगेको छ।गुमाउनेमा लिबर्टी इनर्जीका लगानीकर्ता अघि रहे। सो कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ। त्यस्तै हिमालय पावर पार्टनरको मूल्य ४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन निफ्रा अग्रस्थानमा रह्यो। सो कम्पनीको २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य सामान्य घटेर ५७२ रुपैयाँमा झरेको छ।
हिमाल दोलखाको २२ करोड रुपैयाँ बराबरको कारोबार भयो। नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स र अपी पावर पनि कारोबारका आधारमा अगाडि रहे। साभार :- सेतोपाटीबाट