हिपमत डटकम

शनिबार, चैत्र २१, २०७७ || 558  पटक पढिएको

विकिनी किलर चार्ल्स शोभराज सन् १९६३ देखि १९६७ सम्मको अवधिमा श्रृंखलाबद्ध हत्यामा कुख्यात अपराधी हुन् । त्यसवेला उनी ११ मुलुकका प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए र अन्तर्राष्ट्रिय मिडियामा चर्चाको केन्द्रमा थिए ।

सन् २००३ मा उनी नेपालमा पक्राउ परेपछि हाल केन्द्रीय कारागारमा जन्मकैदको सजाय काटिरहेका छन् । तर, जेल जीवनको १६ वर्षको अवधिमा पनि उनी अन्तर्राष्ट्रिय चर्चाबाट कहिल्यै ओझेलामा परेका छैनन् ।

कहिले जेलमै विवाह त कहिले मुटुको शल्यक्रियाका कारण चर्चामा आउने उनी हालै बेलायती सञ्चार माध्यम मिरर र डेलिमेलमा ‘आफू निर्दोष रहेको र तीनदेखि चार हप्तामा छुट्न लागेको’ भन्दै अन्तरवार्ता दिएपछि चर्चामा छन् ।

उनले आफूलाई अवैधरुपमा जेलमा राखिएको भन्दै झण्डै एक अर्ब नेपाली रुपैयाँ क्षतिपूर्ति माग गरेको समेत बयान दिएका छन् ।

कारागारमा छानविन

शोभराजबारे बेलायती पत्रिका मिररमा सामग्री प्रकाशित भएपछि कारागार व्यवस्थापन विभागले पनि चासो देखाएको छ । विभागका महानिर्देशक द्रोण पोखरेल भन्छन्, ‘एक जना विदेशी पत्रकारले अन्तरवार्ताका लागि अनुमति मागेका थिए तर, हामीले मानेका थिएनौं ।’

तर, शोभराजको भनाइ राखेर समाचार प्रकाशित भएपछि त्यसबारे छानविन गर्न केन्द्रीय कारागार, सुन्धारालाई निर्देशन दिइएको पोखरेलले बताए ।

कारागारका जेलर लक्ष्मी बाँस्कोटाले छानविनका क्रममा उनले अन्तर्वार्ता दिएको नदेखिएको दाबी गरे । उनका अनुसार पछिल्लो समय शोभराजसँग कसैले भेटघाट गरेका छैनन् । बरु उनले केही आफन्तलाई फ्रान्स, अमेरिका र बेलायतमा फोनचाहिँ गरेका छन् । ‘आफन्तसँग गरिएको कुराकानी नै पत्रकारसम्म पुगेर अन्तरवार्ताका रुपमा प्रकाशित भएको हो कि ?’, बाँस्कोटाको आशंका छ ।

कारागारमा कैदीबन्दीले हप्तामा दुई पटकसम्म प्रहरीको निगरानीमा परिवारसँग १५ मिनेट बोल्न पाउँछन् । यद्यपि, त्यस्तो फोन कलको उनीहरु स्वयम्ले पैसा तिर्नुपर्छ ।

केन्द्रीय कारागार ।
सुरक्षा चिन्ता

शोभराजलाई कारागारभित्रको पनि कारागारका रुपमा चिनिने गोलघरभित्र राखिएको छ । यसमा उच्च सुरक्षा जोखिम रहेका कैदीबन्दीलाई राख्ने गरिन्छ । यस्तो सुरक्षित स्थानमा राखिएका व्यक्तिले अन्तर्वार्ता दिनुले कारागारमा सुरक्षासम्बन्धी चिन्ता बढाएको एक सुरक्षा अधिकृतले बताए ।

उनका अनुसार गोलघरमा भएका व्यक्तिले विनाअनुमति अन्तरवार्ता दिनुले कारागारको सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिह्न खडा गराएको छ ।

तर कारागारमा खटिएका एक प्रहरी अधिकृतले भने कारागारको सुरक्षामा कुनै कमजोरी नभएको भन्दै परिवारसँग गरिएको फोन कल पत्रकारसम्म पुगेको हुनसक्ने बताए ।

‘यो घटना सार्वजनिक भएपछि उनैलाई पनि अन्तर्वार्ताबारे सोधेका थियौं’, उनले भने, ‘तर, शोभराजले कसैलाई अन्तर्वार्ता नदिएको बताए ।’ कारागारले उनको सम्पूर्ण गतिविधिको सीसी टीभी फुटेज पनि जाँच गरेको छ, त्यसमा पनि कोहीसँग भेट गरेको नदेखिएको उनले बताए ।

पटकपटक चर्चामा

शोभराजको जीवनीमा आधारित भएर ‘मे और चालस’ नामक फिल्म नै बनेको छ, द सर्पेन्ट नामक नेटफ्लिक्स सिरिज पनि छ । उनी भारत, अफगानिस्तान, ग्रीस र इरानका उच्च सुरक्षा घेरा रहेको जेल तोडेर भागेका थिए ।

 

उनी जेलमा रहँदा सुरक्षाकर्मी र अन्य कैदीबन्दीसँग एकदमै घुलमिल हुन्थे । एकपटक जेलमा जन्मदिनको पार्टी राखेर निन्द्रा लाग्ने औषधी खुवाएर उनी भागेका थिए । उनले आफ्नो जीवनी बताउन पनि पत्रकार र फिल्म निर्मातासँग पनि मोटो रकम लिने गरेका थिए ।

कुनै वेला उनले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘हात्ती पनि छिराइदिन सक्छु’ भनेका थिए । यो अभिव्यक्तिलाई विमानस्थलको सुरक्षा कमजोरीलाई विश्लेषण गर्न अझै उदाहरणका रुपमा प्रयोग गरिन्छ ।

शोभराजले जेलमै नेपाली नागरिक निहीता विश्वाससँग विवाह पनि गरेका थिए ।

२९ वर्षकी निहीतासँग जेलमै विवाह गरेका कारण उनी अन्तर्राष्ट्रिय मिडियामा चर्चामा आएका थिए । त्यसो त मुटुको शल्यक्रिया गर्दा पनि उनी चर्चामा आएका थिए । शहीद गंगालाल अस्पतालका डा. रामेश कोइरालाको टोलीले २०७४ जेठमा उनको मुटुको शल्यक्रिया गरेको थियो ।

छुट्न कम्तिमा पनि तीन वर्ष लाग्ने

विकिनी किलरका रुपमा चर्चित शोभराज २ असोज २०६० मा काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए ।

उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेको अभियोग थियो ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानस्थान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले पनि ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

उनले जन्मकैदको सजाय पुरा गर्न तीन वर्ष लाग्ने छ । शोभराजले २०७५ सालमा बाँकी कैद सजाय मिनाहा गर्न माग गर्दै सर्वोच्चमा रिट पनि दिएका थिए, तर अदालतले उनको मागदाबी खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!