नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ ।
प्राधिकरणको फागुन मसान्तसम्मको तथ्यांकअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ ।
तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयलाई प्राधिकरणले तालीममा सहभागिता जनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधवार एक सूचना जारी गरी ३ दिने तालिममा सहभागिता जनाउन आग्रह गरेको हो ।
प्राधिकरणको सूचनाअनुसार एक विद्यालयका २ जना कर्मचारी वा कम्प्युटर शिक्षक तालिममा सहभागी हुन सक्नेछन् । प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई ३ दिने तालिम प्रदान गर्ने विषयमा सम्झौता भएको थियो ।
सम्झौताअनुसार प्राधिकरणले ३ दिने तालिम दिन लागेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको संख्याअनुसार तालिमको समय र स्थान छनोट गरिने छ ।
प्राधिकरणले ९३० सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छनोटमा परेको नेपाली निर्माण व्यवसायी कम्पनी ओबीसीआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरलाई (ओम्नी) लाई ६ महिनाको समय दिएको थियो । २०७६ भदौ २५ गते ६ महिनाभित्र प्रयोगशाला स्थापना गर्न भन्दै ३ अर्ब ४७ करोड बराबरको ठेक्कामा दिइएको थियो ।
प्राधिकरणले तोकेअनुसार प्रत्येक विद्यालयको आईटी ल्याबमा करीब २४ वटा कम्प्युटर र २ थान हार्ड डिस्क (एक्सर्टनल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्वीच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टम समेत जडान गर्नुपर्नेछ ।