काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि २०२८ देखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकोमा २०४० सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्ष निकाली प्रक्रिया अगाडि बढाइएको थियो ।
मेलम्चीको पानी काठमाडौँ ल्याउने अवधारणालाई कार्यान्वयनमै ल्याउन २०४८ मा पुनः अध्ययन भयो । विसं २०५४ मा मेलम्ची खानेपानी विकास समिति गठन गरी विभिन्न विकल्पबारे गरिएको अध्ययनले मेलम्ची नदी नै उत्तम विकल्प हो भन्ने निष्कर्ष निकालेर २०५६ देखि यसको विस्तृत डिजाइनको काम सुरु गरी २०५८ मा सम्पन्न भएको थियो । डिजाइनको काम सम्पन्न भए पनि २०६३ सम्मको समय यसको प्रारम्भिक तयारीमा बितेको थियो ।
आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार यस अवधिमा पहुँचमार्ग निर्माण, वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) तयार, जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम भएको थियो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विभिन्न सन्दर्भमा मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकामा ल्याउनुपर्ने चर्चा गरेका थिए। कामलाई तीव्रता दिन २०६४ मा आयोजनालाई दुई भागमा विभाजन गरी काम अगाडि बढाइएको थियो ।
आर्थिक वर्ष २०६५/६६ मा मात्रै सुरुङमार्ग निर्माणका लागि प्रक्रिया सुरु भयो । विसं २०६६ मा चिनियाँ कम्पनी चाइना रेलवे कर्पोेरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाए पनि उसले सुरुङ निर्माणका लागि साढे तीन वर्ष काम ग¥यो । यसले काममा ढिलाइ गरेपछि ठेक्का नै रद्द गरियो ।
सुरुङ निर्माणको बाँकी काम गर्न २०७१ सालमा इटालीको कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्स्ट्री (सीएमसी)सँग ठेक्का सम्झौता भयो । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले आयोजनाको काम प्रभावित भएपछि दुई वर्ष मेलम्चीको कामले गति लिन सकेन ।
सुरुङ निर्माण २०७४ चैत २७ मा सीएमसीले पूरा ग¥यो । सुरुङ फिनिसिङ, हेडवक्र्सलगायतका काम अगाडि बढाउन नपाउँदै सीएमसीले २०७५ पुसमा आयोजनाबाट हात झिकेपछि सरकारले सो कम्पनीसँगको ठेक्का रद्द ग¥यो । त्यसपछि सुरुङमार्ग, हेडवक्र्स र फिनिसिङलगायतका काम सम्पन्न गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँग गत २०७६ असोजमा ठेक्का सम्झौता भई काम अगाडि बढ्यो ।
एक वर्षभित्र सुरुङमार्गको फिनिसिङ र हेडवक्र्सको काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीले काम प्रभावित हुन पुग्यो । कोरोना महामारीपूर्व नै सिनो हाइड्रोले निर्माणलाई तीव्रता दिएकाले सम्झौताको पाँच महिना ढिला गरी आयोजना निर्माण सम्पन्न हुँदै छ ।
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने पहिलो राष्ट्रिय गौरवको आयोजना बन्ने भएको छ । मेलम्ची खानेपानी आयोजना २०५५/५६ मा सुरु भई २०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर विभिन्न व्यवधानले यो आयोजनाको काममा ढिलाइ भएपछि पछिल्लो पटक आव २०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
आयोजनाको दोस्रो चरण भने २०८०/८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सुरुमा २४ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएकोमा समय बढ्दै गएपछि खर्च पनि बढ्यो । यो आयोजनाको अहिलेसम्मको खर्च ३१ अर्ब ३६ करोड रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादव र लक्ष्मण दर्नालले खबर छ ।