तिन वर्षाअघि बहुमतको कम्युनिष्ट सरकार बन्दा उनलाई लागेको थियो – अब गरिबदुखीका दिन फिर्ने भए, मुलुकमा समाजवादको अधार तयार हुने भयो। तर सत्तामा पुगेको डेढ / दुई बर्षदेखि पार्टी र सरकारका बिषयमा गज्याङ्गुजुङ्ग सुन्न थालेपछि उनलाई नरमाइलो लाग्न थालेको थियो। हुँदाहुँदा अहिले त पार्टी नै तिन टुक्रा भयो।अब त उनका सबै आशाहरु निरासामा बदलिएका छन्।
मोरङ्गको रतुवामाई – ९ डिपुका ७८ बर्षीय सुरेन्द्र कुथुमी नेकपा विभाजनले दुख्नसम्म दुखेका छन्। धनकुटाको चुङ्गमाङ्गमा स्कुल पढ्दादेखि नै बामपन्थी बिचारको पछि लागेका कुथुमीले कम्युनिष्ट पार्टीका अनेकौं फुट र बिभाजन्हारू देखे र खेपे पनि। अहिलेको फुटले चाहिं उनलाई विगतको भन्दा निकै गहिरो चोट दिएको छ। उनी भन्छन, ” हाम्रो जीवन यहि कम्युनिष्ट पार्टीको सिद्दान्त, विचार र आस्था, निष्ठासँग जोडिएर बित्न लाग्यो। बल्लबल्ल हाम्रा आशाका किरणहरु उदाउन्दै थिए, आस्थाको घरै गर्ल्याम्म ढल्यो ” ।
पार्टी नीति, विचार, पद्दति र अनुसासनमा हिड्न नसकेकाले कम्युनिष्ट आन्दोलन पटकपटक धारासाही बनेको कुथुमी बाको बुझाइ छ। नेताहरुमा देखिएको लोभीपापी प्रवृति, दम्भ,अहंकार र व्यक्तिगत स्वार्थका कारण शोषित पिडित जनतामाथि कुठाराघात भएको उनको भनाई छ। पहिले पनि सरकारमा पुगेपछि एमाले फुटेको प्रसङ्ग उल्लेख गर्दै उनी भन्छन् , ” अहिले त झन् सरकार चलाउंदाचलाउँदै पार्टी तिन टुक्रा भय। सरकार बाहिर हुँदा सब ठिक हुन्छ, सरकारमा गयो, पार्टी फुटिहाल्छ ”
केपी ओली नेतृत्वको सरकारलाई पार्टीले एक ढिक्का भएर सहयोग नगरेको उनको ठम्याई छ। उनी भन्छनं, ” ओलीका पनि थुप्रै कमजोरी छन्, तर जेजे भए पनि उनलाई ढुक्कले ५ बर्ष सरकार चलाउन दिनु पर्थ्यो। अढाई / अढाई बर्षको कुरा पनि सुनियो तर मलाई लाग्छ – त्यो गलत थियो।
त्यसो त कुथुमी बा समस्या आइसकेपछि भाग्न नहुने, डटेर सामाधान गर्नु पर्ने विचार राख्छन्। नेतृत्वको क्षमता परीक्षण नै समस्या परेको बेला हुने उनको बुझाई छ। उनी भन्छन् , ” अब नेतृत्वले कम्युनिष्ट आन्दोलनको मर्म र श्रमजीवी जनताको भावना कसरी बुझ्छ, हेर्नु छ। पार्टी प्रमुख र सरकार प्रमुख भएको नाताले केपी ओलीले समस्या सामाधानका लागि पनि प्रमुख भूमिका निर्वाह गर्नु पर्छ। संयम, धैर्य र उदार भएर सहकर्मॆहरुसँग समन्वय गर्नुपर्छ। हिजोको इतिहास सम्झनुपर्छ, भोलिका लागि दुरदृष्टि राक्नुपर्छ। सके माओबादी केन्द्रसहितको एकीकृत पार्टी कायम राख्नुपर्छ, नसके कम्तिमा एमालेलाई फुट्नबाट जोगाउनुपर्छ। एमाले पनि फुट्यो भने ओलीको नराम्रो इतिहास लेखिन्छ ” ।
२०२२ साल्पछि बिभाजित हुन थालेको नेपाल कम्युनिस्ट पार्टी २०३५ साल्सम्म आइपुग्दा दर्जनौं समुहमा टुक्रिएको थियो। यसैबीच कोअर्डिनेसन केन्द्र, मुक्ती मोर्चा लगायतक कम्युनिष्ट समुहहरु एकीकृत कम्युनिष्ट पार्टी निर्माण अभियानमा जुटे । अभियानले सार्थकता पायो। २०३५ फागुन ७ देखि ११ गतेसम्म बक्राह खोला किनारमा रहेको डिपु गाउँका टेकबहादुर राईको घरमा पार्टी सम्मेलन आयोजना गरियो ।
सम्मेलनले सिपी मैनालीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्ती ( माले ) को घोषण गरयो । मैनाली महासचिव रहेको ३ सदस्यीय पोलिटब्युरो र ११ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरियो । पोलिटब्युरोमा महासचिब सहित जिवराज आश्रित र माधब नेपाल चुनिए । अमृत बोहोर, रत्नकुमर बान्तवा, मदन भण्डारी, ईश्वर पोख्रेल, प्रदिप नेपाल, मोदनाथ प्रश्रित लगायतले केन्द्रीय सदस्यको जिम्मेवारी पाए।
मदन भण्डारीको ब्यवस्थापनमा त्यो ऐतिहासिक सम्मेलन भएको थियो । भण्डारीलाई सघाउने स्थानीय मध्येका एक थिए कुथुमी बा । स्थानीयको सघन सहयोग र कुसल पहरेदारीका कारण पन्चायती प्रशासनले सुइँको नपाई सम्मेलन सम्पन्न भएको थियो।
मदनसँग उनको पार्टी निर्माण सम्बन्धी बैचारिक – सांगठानिक छलफल हुन्थ्य। यो पाको उमेरमा पनि अधिकांश समय मार्क्सवादी दर्शनका पुस्तकहरु पढिरहने कुथुमी बा त्यो कलिलै उमेरमा मदनले प्रस्तुत गरेको बैचारिक क्षमताको औधि प्रसंशा गर्छन्। उनि भन्छन् , ” मदन कमरेड छलफल गर्न रमाइलो मान्नुहुन्थ्यो, अरुका विचार असाध्यै राम्ररी सुन्नुहुन्थ्यो, राम्रा र नयाँ विचारको खुलेर प्रसंशा गर्नुहुन्थ्यो। मार्क्सवादी दर्शनमा त्यतिबेलै उहाँको गहिरो ज्ञान थियो, आफ्नो विचारले अरुलाई प्रभावित गर्ने अदभुत क्षमता थियो ” ।
पार्टी स्थापना भएको टेकबहादुरको घरलाई केन्द्र बनाएर मदन – आश्रित फाउण्डेसनले गत सालदेखि मदन – आश्रित पार्क निर्माण गरिरहेको छ। पार्कको उत्तरपट्टी मदन भण्डारीको पूर्ण कदको शालिक राख्ने खुथुमॆ बाको ठुलो सपना छ।
आफ्नो गाउँमा जन्मिएको नेकपा माले, नेकपा एमाले हुँदै सिंगो नेकपामा विकास भएर बहुमतको कम्युनिष्ट सरकार चलाउन पाएकोमा खुशी भएका कुथुमी बा पार्टी विभाजनको बाटोतिर लागेपछि फुटले पद प्रतिष्ठा गुमाउनेहरु भन्दा कयौं गुणा दुखेका छन्। तथापि, पार्टी एक हुनेमा उनको विश्वास जिवितै छ। उनी भन्छन्,” पार्टी, जनता र राष्ट्रको हितलाई केन्द्रमा राखेर नेतृत्वले दुरगामी दृष्टिका साथ भूमिका निर्बाह गर्न सक्यो भने अझै पनि पार्टी एक भएर अघि बढ्न सक्छव “।