शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।
बिहीवार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोभिड–१९ को संक्रमण र जोखिम बढेर जाने सम्भावना देखिएकाले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा सम्बन्धित सबै सरोकारवालाले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयले तय गरेको जनाएका छन् ।
‘सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिकोत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।’
मन्त्रालयले विद्यालयले दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७’को पूर्णरूपमा अनुशरण गर्नु अनुरोध गरेको छ ।
‘कार्यढाँचाको अधिनमा रही स्थानीय सरकारबाट निर्णय भएबमोजिम गर्नू/गराउनू हुन पुनः अनुरोध गरिएको छ । उक्त कार्यढाँचा यस मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्ने सकिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।