दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा मृत फेला परेका दुईजना विद्यार्थीको पोष्टमार्टम सकिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्काले विष खाएको भेटिएको छ । काभ्रेका १८ वर्षीय मंगल तामाङले चाहिँ विष खाए–नखाएको खुलेको छैन ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले अनुसन्धान अधिकृतलाई बताएका छन् । चिकित्सकले शव परीक्षणको लिखित रिपोर्ट प्रहरीलाई दिइसकेका छैनन् । पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए ।
बाङ्गेमूढा बस्ने उनीहरु कक्षा १० मा अध्ययनरत थिए । चैत ६ मा चाल्नाखेल जंगलमा उनीहरुको शव फेला परेको थियो । घटनास्थलमा सेल्फोस नामक किटनाशक औषधीको बट्टा फेला परेको छ । अर्जुन र मंगलको भिसेरा परीक्षण गरिने भएको छ । विषको मात्रा पत्ता लगाउन मुटु, कलेजो र आन्द्राभुँडीको स्याम्पल लिएर प्रहरीको विधि विज्ञान प्रयोगशालामा भिसेरा जाँच गरिने एसपी बस्नेले रातोपाटीलाई बताए ।