पर्यटकीय शहर पोखरा पछिल्ला वर्षहरुमा खेल पर्यटनको गन्तव्यसमेत बनेको छ । वर्षभरि नै यहाँ खेलकूद गतिविधि सञ्चालन हुने गर्दछन् । रङ्गशालाको ४२५ रोपनी जमीनमा फुटबल, क्रिकेट, भलिबल, टेनिस, आर्चरीलगायत सबै खेलका पूर्वाधार एउटै थलोभित्र रहेकाले पोखरा रङ्गशाला ‘स्पोर्टस् कम्प्लेक्स’ समेत बनेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी यहाँ हुने खेल प्रतियोगिता खेल्न आउँछन् । गत वर्ष सम्पन्न सागपछि पोखराले विश्व खेलकूदको मानचित्रमा समेत आफूलाई स्थापित गरेको छ । ‘खेलकूदको हब’ पोखरामा कोभिड–१९ ले भने लामो समय खेल क्षेत्रलाई शून्यतामा पु¥यायो । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मङ्सिर पहिलो साता खेल गतिविधि तथा प्रशिक्षण पुनः सञ्चालन गर्ने निर्णय गरे पनि विगतका वर्षहरुमा सञ्चालन हुने फुटबल, क्रिकेट, भलिबललगायत खेलका प्रतियोगिताले अझै निरन्तरता पाउन सकेको छैन । रोकिएका ठूला प्रतियोगिताहरु सञ्चालन हुने नहुने द्विविधा अझै छ ।

खेलकूदको उर्वर भूमिमा लामो समय प्रतियोगिता शून्य प्रायः रहेका अवस्थामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि यतिबेला पोखरा आएको छ । आगामी विश्वकप फुटबल तथा एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय टोलीले शुक्रबार साँझदेखि पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा प्रशिक्षण सञ्चालन गरेको छ । सिनियर राष्ट्रिय टोली बन्द प्रशिक्षणका लागि लामो समयपछि यहाँ आएको हो ।

कोरोनाले खेल क्षेत्र प्रभावित भएका बेला एक दशकपछि राष्ट्रिय फुटबल टोली यहाँ आएर प्रशिक्षण शुरु गरेपछि पोखराका खेलकर्मी उत्साहित बनेका छन् । कोभिड–१९ ले शून्यतामा पु¥याएको खेल क्षेत्रलाई माथि उठाउन राष्ट्रिय टोलीको प्रशिक्षणले सघाउ पुग्ने र खेलकूद नगरीमा विस्तारै खेलकूद क्षेत्र चलायमान हुने विश्वास पोखरेलीको छ । यसबाट पोखराको खेल पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

पोखरामा १९ वर्षदेखि निरन्तर आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुुरु भएपछि पोखरा कोभिडबाट सुरक्षित रहेको र अब खेलकूद गतिविधि अघि बढाउन सकिन्छ भन्ने माहोल सिर्जना भएको बताए ।

आफूहरुलाई समेत आहा रारा गोल्डकपका लागि तयारी अवस्थामा लाग्नु पर्दछ भन्ने सन्देश मिलेको उनको भनाइ छ ।

विगतमा स्तरीय पूर्वाधार अभावमा महत्वपूर्ण प्रतियोगिता सञ्चालन नभएको अवस्थामा गत वर्ष सम्पन्न १३औँ सागलाई लक्षित गरी निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको भनाइ अध्यक्ष थापाको छ ।

नेपालले एक दशकअघि पाकिस्तान र भूटानसँग पोखरामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि लामो समय राष्ट्रिय टोलीको खेल यहाँ हुन सकेको छैन । आगामी चैतमा हुने विश्वकप छनोटका बाँकी खेलका लागि राष्ट्रिय टोलीले डेढ महिना काठमाडौँमा कृत्रिम मैदानमा प्रशिक्षण गरेको थियो । पोखरामा नवर्निमित प्राकृतिक मैदानमा अभ्यास गर्न पाएपछि खेलाडीसमेत उत्साहित छन् । गत वर्ष घरेलु प्रतियोगिता खेल्न आउँदा भन्दा अहिले मैदान राम्रो पाएपछि खेलाडी सन्तुष्ट देखिएका छन् ।

राष्ट्रिय टोलीका सिनियर खेलाडी विराज महर्जन पोखरामा आरामदायी मैदान र वातावरणमा प्रशिक्षण गर्न पाउँदा सबै खेलाडीले रमाइलो महसुस गरेको बताए ।

टोलीमा रहेका अधिकांश खेलाडी २३ र १९ वर्षमुनिको रहेकाले समेत उनीहरुलाई मैत्रीपूर्ण खेलको आवश्यक रहेको बताउँदै विराजले सिनियर जुुनियर टोलीले कम्बिनेशनबाट टोलीको मनोबल उच्च रहेको उल्लेख गरे । नेपाली टोलीलाई प्रमुख प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराएका छन् । टोलीले तीन महिनाअघि नै काठमाडौँबाहिर तालीमको योजना बनाएको थियो ।

पोखरा आगमन र प्राकृतिक मैदानमा अभ्यासको राम्रो वातावरणबाट खेलाडी खुशी भएको प्रमुख प्रशिक्षक महर्जनले बताउए ।

विश्वकप छनोट प्रतियोगिताअघि टोलीलार्ई विदेशमा प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि खाडी मुुलुकहरुसँग कुराकानी भइरहेको प्रशिक्षक महर्जनले जानकारी दिए । राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्नेछ । पर्यटकीय शहर पोखरामा राष्ट्रिय टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ ।

एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले खेलाडीलाई मनोवैज्ञानिकरुपमा खुशी र तयार बनाउनका लागि स्तरीय मैदानमा अभ्यास तथा खान बस्नका लागि राम्रो सुविधा उपलब्ध गराइएको बताए ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट चरणका बाँकी तीन खेल नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!