
काठमाडौं — समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आलोचनामा परेको छ। समानुपातिक प्रणालीको मर्मविपरीत एलिट वर्ग र नेतानिकट व्यक्तिलाई प्राथमिकता दिएको आरोप पार्टीमाथि लागिरहेका बेला कलाकार तथा निर्माता दीपकराज गिरीले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गिरीले लेखेका छन्, ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं। त्यसैले दुश्मन हँसाउने काम नगरौं है साथी हो।’ उनको यो टिप्पणी रास्वपाको समानुपातिक सूचीप्रति लक्षित मानिएको छ।
पार्टीकै केही नेताले समेत समानुपातिक सूचीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा आलोचना गरेका छन्। समानुपातिक प्रतिनिधित्वमा समावेशीता र पिछडिएका वर्गलाई प्राथमिकता दिनुपर्नेमा चर्चित अनुहार र प्रभावशाली व्यक्तिहरूलाई अघि सारिएको भन्दै प्रश्न उठाइएको छ।
नयाँ राजनीतिक शक्तिको दाबी गर्दै आएको रास्वपाले समानुपातिक उम्मेदवार छनोटमा पुराना दलले अपनाउँदै आएको अभ्यास दोहोर्याएको आरोप लाग्दै आएको छ। सूचीमा भाइरल र सार्वजनिक रूपमा चिनिएका अनुहारहरू समावेश भएपछि आलोचना थप चर्किएको हो।
यसैबीच, बालेन्द्र शाह समूह र कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो पार्टी नेपाल’सँग रास्वपाको एकतापछि पार्टी मुलुकको राजनीतिक चासोको केन्द्रमा छ। यही पृष्ठभूमिमा समानुपातिक सूचीलाई लिएर उठेको विवादले विपक्षी दललाई आलोचनाको अवसर दिएको छ।
दीपकराज गिरीको व्यङ्ग्य बालेन्द्र शाहप्रति लक्षित देखिने विश्लेषण गरिएको छ। बालेन्द्रले गाएको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने गीतको पंक्तिलाई उद्धृत गर्दै गिरीले टिप्पणी गरेकाले त्यसतर्फ संकेत गरेको मानिएको छ। कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेसँगको तस्बिर सेयर गर्दै बालेन्द्रले केही दिनअघि यही वाक्य सामाजिक सञ्जालमा लेखेका थिए।