
विराटनगर । लाखौं रुपैयाँ खर्चेर विदेशी मरुभूमिमा एटिभि (ATV) बाइक कुदाउने र समुद्रमा जहाज चढेर सयर गर्ने नेपालीहरूका लागि अब खुसीको खबर छ । अब त्यो रोमाञ्चक अनुभव लिन विदेश जानु पर्दैन, नेपालमै सम्भव भएको छ । सुनसरीको बराहक्षेत्र–२ स्थित सप्तकोसी नदीको किनारमा हालै सञ्चालनमा आएको हेपिल्याण्ड रिसोर्टले यि सम्पुर्ण सुविधा उपलब्ध गराउँदै पर्यटनमा नयाँ आयाम थपेको छ ।


लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय युवा उद्यमीहरू रामसुन्दर बके, मेजर राई, ईश्वरी ढकाल, देवराज तामाङलगायतको समूहले बोराबाँध नामले परिचित सप्तकोसीको सिसौलि तटीय क्षेत्रमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
प्राकृतिक सुन्दरता, खुला आकाश र विशाल सप्तकोसी नदीको तटलाई मरुभूमि तथा समुद्री अनुभवसँग जोड्दै उनीहरूले नेपालमै अनौठो र आकर्षक पर्यटन गन्तव्य विकास गरेका छन् ।
हेपिल्याण्ड रिसोर्टमा मरुभूमिमा गुड्ने एटिभि बाइक राइडिङको सुविधा उपलब्ध छ, जुन विशेषगरी मध्यपूर्वका देशहरूमा मात्र उपलब्ध छ । नेपालमै पहिलोपटक यस्तो अनुभव यस क्षेत्रमा ल्याइएको रिसोर्टका अध्यक्ष मेजर राई बताउँछन् ।

सप्तकोसी नदीमा बोटिङ गर्दै समुद्री यात्राको आनन्द लिने सेवा पनि रिसोर्टमा उपलब्ध रहेको छ । साथै रिसोर्टमा घुम्न आउने पर्यटकका लागि क्याम्प फायर, खुला वातावरणमा रमाइलो गर्न सकिने मनोरञ्जनात्मक प्याकेज र स्वादिष्ट खानाका परिकारहरूले पर्यटकको बसाइ झनै अविस्मरणीय बनाउने अध्यक्ष राईले बताए ।
हेपिल्याण्ड प्राइभेट लिमिटेडले करिब ५ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट निर्माणका लागि झन्डै १० करोड रुपैयाँ लगानी गरेको छ । रिसोर्टभित्र आधुनिक साजसज्जा, व्यवस्थापन र पर्यटकमैत्री संरचनाहरू निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको चरणमा रहेको सञ्चालक रामसुन्दर बकेले जानकारी दिए ।

विदेशमा उपलब्ध हुने सुविधा स्वदेशमै प्रदान गरी नेपाली पर्यटकलाई देशभित्रै रोक्ने र विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ रिसोर्ट सञ्चालन गरिएको उनको भनाइ छ ।
पछिल्लो समय बोराबाँध क्षेत्रमा साँझ पर्नासाथ घाम अस्ताउँदै गरेको दृश्य हेर्न पर्यटकको भीड लाग्ने गरेको छ । विशाल समुद्रझैँ फैलिएको सप्तकोसी नदी, खुला आकाश र पानीमाथि परावर्तित सुनौलो सूर्यास्तको दृश्यले जो–कोहीलाई मोहित बनाउने हेपिल्याण्ड रिसोर्टका अर्का सञ्चालक ईश्वरी ढकाल बताउँछन् ।

बिहानको सूर्योदयका कारण प्रसिद्ध इलामको श्रीअन्तु जस्तै, अहिले बोराबाँध क्षेत्र साँझको सूर्यास्तका लागि चर्चित बन्दै गएको छ । हेपिल्याण्ड रिसोर्टबाट यो मनमोहक दृश्य सहजै अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण झनै बढेको ढकालले बताए ।
विगतमा कटान र डुबानको त्रासमा रहेको यस क्षेत्रमा अहिले पर्यटनले नयाँ आशा जगाएको छ । रिसोर्ट सञ्चालनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै होटल, कफी स्पट र फोटो–प्वाइन्टहरूको तयारी तीव्र रूपमा भइरहेको छ ।

सप्तकोसीको मुहान नजिकको रमणीय भू–दृश्यले यहाँ आउने पर्यटकहरू सामाजिक सञ्जाल टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत फोटो तथा भिडियो शेयर गरिरहेका छन्, जसले बोराबाँध र हेपिल्याण्ड रिसोर्टलाई झनै चर्चित बनाइरहेको छ ।
प्राकृतिक सुन्दरता, शान्त वातावरण र सहज पहुँचका कारण बोराबाँध छिट्टै स्थानीय तथा आन्तरिक पर्यटनको हब बन्ने संकेत देखिएको छ । राज्य र सम्बन्धित निकायले उचित योजना बनाएर संरक्षण र व्यवस्थापन गर्न सके भविष्यमा यो क्षेत्र कोशी प्रदेशकै प्रमुख सूर्यास्त–पर्यटन गन्तव्य बन्न सक्ने विश्वास हेपिल्याण्ड रिसोर्टका अध्यक्ष मेजर राई व्यक्त गर्छन् । यस क्षेत्रसम्म पुग्ने सडक निर्माणमा राज्यले ध्यान दिनुपर्ने राईको भनाई छ ।

नेपालमै मरुभूमि र समुद्री अनुभव लिन चाहनेहरूका लागि हेपिल्याण्ड रिसोर्ट अहिले नयाँ गन्तव्यको रूपमा उभिएको छ । प्राकृतिक सौन्दर्य, रोमाञ्चक गतिविधि र आरामदायी वातावरणको संगम अनुभव गर्न चाहने जो–कोहीका लागि अब बोराबाँध पुगि हेपिल्याण्ड रिसोर्ट घुम्नैपर्ने स्थान बनेको छ ।
