हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 647  पटक पढिएको

माधव नेपालले भन्दै जानुभयो, ‘हामीले केमा अप्ठ्यारो पार्‍यौँ ? जे गर्न मन लाग्यो, छूट दिएकै छौँ । तपाईंका हरेक गतिविधिमा आँखा चिम्लिएकै छौँ । जथाभावी नियुक्ति गर्नुभएकै छ । सहमति तोड्नुभएकै छ । हामीबाट पार्टीलाई अहित हुने कामचाहिँ भयो के ?’

यसरी प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा फेरि पनि भन्नुभयो, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपुर्‍यायौँ । अब प्रचण्डलाई पार्टी बुझाउने कुरै हुँदैन । उसलाई बुझाउने कुरा सपनामा पनि नचिताए हुन्छ ।’

माधव नेपाललाई फकाउने नाममा प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डको राम्रैसँग बद्ख्वाइँ गर्नुभयो । ‘र’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणबारे पनि जमेरै छलफल भयो । माधवले भन्नुभयो, ‘तपाईंले यो ठीक गर्नुभएन । म प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेको मान्छे । यो रुपमा, खुल्लमखुला पार्टीको हुर्मत लिने काम राम्रो भएन । हिजो जसरी आफूलाई मेन्टेन गरिरहनुभएको थियो, जुन इमेज बनाइरहनुभएको थियो, सोच्नुभएको छ, यो भ्रमणपछि तपाईंको इमेज कस्तो भयो ? मान्छेहरूले तपाईंबारे के धारणा बनाएका छन् ? बुझ्नुभएको छ ?’ माधवले भन्नुभयो, ‘आज भारतीय गुप्तचर प्रमुखसँग यसरी भेट्नुभयो । भोलि पाकिस्तानी आइएसआईका प्रमुख आउलान् । के तिनलाई त्यसरी नै भेट्नुहुन्छ ? भोलि अमेरिकाबाट सिआइएका प्रमुख आउलान् । के त्यसरी नै भेट्ने अवसर दिनुहुन्छ ? चीनका गुप्तचरहरू आउलान् । के त्यो बेलामा एकदमै हार्दिकताका साथ के–के न गरेझैँ गर्नुहुन्छ ? त्यसैले यो काम राम्रो भएन ।’

माधवको भनाइ थियो, ‘तपाईंलाई जे गर्न मन लाग्यो, त्यही गर्ने ? मलाई केही पनि चाहिँदैन । तपाईंको आश्वासन पनि चाहिएन । केही दिनै पर्दैन । मैले प्राप्त अवसरहरू पहिल्यै सदुपयोग गरिसकेको छु । कहिले वामदेवलाई, कहिले प्रचण्डलाई आश्वासन दिनुहुन्छ । यस्तो काम बन्द गर्नुस् । विधि, प्रक्रिया र नीतिमा चल्नुस् । तपाईंले सबै कुराको ख्याल गर्नुभएको छैन । यसले राम्रो गरेको छैन, गर्दैन । यो तरिकाले पार्टी कहीँ पनि पुग्दैन । बिल्कुलै राम्रो काम भएन ।’

प्रधानमन्त्रीले ‘र’ प्रमुखसँगको भेटबारे स्पष्ट पार्नुभयो, ‘मोदीजीले एकजना मान्छे पठाउँदै छु भन्नुभयो । को हो भनेर सोधिखोजी गर्ने कुरा पनि भएन । आएपछि पो थाहा भयो, ‘र’ का प्रमुख पो रहेछन् ।’

यो कुरालाई टिप्पा दिँदै माधव नेपालले भन्नुभयो, ‘यस्ता केटाकेटी कुरा नगर्नुस् । केही नबुझ्ने, केही नजान्नेजस्तो ढाँट, छल र कपटका कुरा गरेर केटाकेटी पारा नदेखाउनुस् । त्यो सुनियोजित भेट थियो । त्यसले के सन्देश दिन खोजेको छ भन्ने कुरा पनि छर्लङ्गै छ ।’

ओलीले सीमा विवाद वार्ताबाट सुल्झाउने कुरा भएको र परिणाम पनि राम्रै आउने आशा रहेको बताउनुभयो ।
ओलीले पटक–पटक माधवसँग सहकार्यका लागि आग्रह गर्नुभयो । अनि, त्यति नै प्रचण्डको बदख्वाइँ गरिरहनुभयो । माधवले भन्नुभयो, ‘हामीबाट के असहयोग भयो ? मनखुशी गर्नुभएकै छ । चाहेअनुसार हरेक निर्णय लिइरहनुभएकै छ । हामीले अरु के भनेका छौँ, विधि प्रक्रियामा जाऔँ भनिएको होइन र ?’
साभार-जनआस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!