सोमबार, आश्विन ०५, २०७७ || 491  पटक पढिएको

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीले अब मन्त्रिमण्डल पूनर्गठन गर्दाखेरि अलिक ठूलो मात्रामा पूनर्गठन गर्नेगरि तयारी थालेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले दशैंभन्दा अघि नै मन्त्रिमण्डल पूनर्गठन गरिने पनि स्पष्ट पारेका छन् । प्रस्तुत छ नेता खनालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब मन्त्रिमण्डल पुनर्गठन हुने भयो होइन ?

अब मन्त्रिमण्डल पुनर्गठन हुने कुराहरू भईराखेका छन् ।

अब पुनर्गठन गर्दाखेरि सबैलाई हटाउने कि दुई वर्ष पुगेकालाई हटाउने कि के गर्ने तयारी छ ?
मन्त्रिमण्डल पुनर्गठन गर्दाखेरि अलि ठुलो मात्रामा पुनर्गठन गर्ने, धेरैलाई हटाउने र आवश्यकता हेरिकन नयाँ पुराना सबै अनुहारहरूलाई पनि समेट्ने, सबै क्षेत्रहरूलाई पनि समेट्ने, जाति, भाषा, सँस्कृति सबैलाई समेटेर नयाँ मन्त्रिमण्डल बनाउने र मन्त्रिमण्डलले देशलाई एउटा सन्देश दिने हिसाबले अगाडि आउनुपर्छ भन्ने बैठकको राय छ ।

अबको मन्त्रिमण्डलको कुरा गर्दाखेरि पार्टीका सक्षम, ईमान्दार, विभिन्न तहका जनजाति, आदिवासी, मधेशी सबै समेटिएको अनुहार हुन्छन कि नेताहरूको गोजीबाट झिकेर मन्त्री बनाउने योजना छ ?

हामीले संसदमा पटक÷पटक निर्वाचित भएर आएका सांसदहरूबीच प्रतिस्पर्धा हुन्छ । जसले अवसर पाउनुभएको छैन, उहाँहरूले पनि पालो पाउनुपर्छ । त्यसैगरेर लैगिंक समानताको पनि हामी कुरा गरिरहेका छौँ । महिलाहरूलाई पनि ठाउँ दिनुपर्छ । त्यसैगरी अरू विभिन्न जाति, जनजाति आदिलाई पनि ठाउँ दिनुपर्छ । यी सबै कुराहरूलाई ध्यानमा राखेर सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी यो मन्त्रीमण्डल बनाउने कुराहरूमा सचिवालयले सुझाव दिएको छ ।

होइन अब नयाँ मन्त्री बन्दाखेरि नेताहरूको निकटका मान्छे मन्त्री बन्छन् कि योग्य र सक्षम मान्छे बन्छन् ?

जो सक्षम, योग्य छन्, वर्षौदेखि त्याग र तपस्या गर्दै आएका छन्, त्यस्ता साथीहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो भनाईं छ । त्यही ढंगको सुझावहरू हामीले राखेका छौँ र अझैपनि हामी राख्छौँ । त्यसबारेमा छलफल भईसकेको छैन । छलफल जारी छ । पार्टीलाई लामो समयदेखि योगदान गर्दै आएका त्याग, तपस्या गरेका र संसदमा आएरपनि राम्रो भूमिका खेलिरहेका, राम्रो भूमिकामा बसेर काम गरिरहेका साथीहरूलाई समेत समेट्ने कुराहरू हुनुपर्छ ।

होइन नेपाल कम्युनिष्ट पार्टीको कुरा गर्दाखेरि तपाई त पार्टीको शीर्ष नेता हुनुहुन्छ, बौद्धिक व्यक्तित्व हुनुहुन्छ, नेपाली जनताले मन पराएको नेता हुनुहुन्छ । अब तपाईले मन्त्री बनाउँदाखेरि गुटको मान्छेलाई बनाउनुपर्छ ? अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीमा हामीले देखेको ?

अब हामीले यो गुटबन्दीलाई तोडेर वास्तवमा योग्यता, क्षमता, योगदानको आधारमा मन्त्रिमण्डल छान्ने, समेट्ने एउटा सिद्धान्तमाथि आधारित भएर समावेशी ढंगको र योग्य साथीहरूको मन्त्रीमण्डल बनाउने कुराको छलफल हुँदैछ । अब गुटबन्दीलाई इतिहास बनाउनुपर्ने हुन्छ । कार्यदलले पनि गुटबन्दी अब अन्त्य गर्नुपर्छ भन्ने निचोड लिएको छ । स्थायी समितिको बैठकले पनि गुटबन्दीलाई अन्त्य गर्ने कुरा व्यक्त गरेको छ । त्यो कुरालाई समेत ध्यानमा राखेर अबको मन्त्रिमण्डल बनाउने कामहरू हुन्छ ।

त्यसो भए अब नयाँ मन्त्रीमण्डलको पुनर्गठन हुँदाखेरि गुटको छाँया पर्छ कि पर्दैन ?

अब सकेसम्म गुटको छाँया पर्न नदिन हामी प्रयत्न गर्छौँ । यसमा कति सफल हुन्छौँ हामी, त्यो पछि हेर्नुपर्छ ।

अबको मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्रीको ५० प्रतिशत, प्रचण्डको ४० प्रतिशत अनि तपाईहरूको कति पर्छ ?
त्यस्तो प्रतिशतको हिसाबले मन्त्रीमण्डल बन्दैन । योग्यता, आवश्यकता, क्षमताको आधारमा मन्त्रीमण्डल बनाउने कोशिस हुन्छ, भागबण्डाको आधारमा होइन ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज तीनओटा विकल्प राख्नुभयो नि त । मन्त्रीमण्डल विस्तार गर्दाखेरि, पुनर्गठन गर्दाखेरि यी यी हुन सक्छन्, भनेर राख्नुभएको छ । तपाईहरूको विमत्ति छ कि छैन ?

हामी सबैको कुरा के हो भने हामी सकेसम्म ठुलो मात्राको पुनर्गठन गर्ने, सबैलाई हटाउने कुरा पनि हुन सक्छ, ठुलो संख्यालाई हटाउने, सानो संख्यालाई मात्र राख्ने कुरा पनि हुनसक्छ तर हामी सबैको धारणा के छ भन्दा ठुलो मात्रामा पुनर्गठन गर्ने छ । पहिले अवसर प्राप्त गरिसकेकाहरूलाई हटाउने र अवसर प्राप्त नगरेका साथीहरूलाई अगाडि बढाउने र केही÷केही साथीहरूलाई पनि आवश्यकता हेरिकन राख्ने भन्ने कुराहरू सबैको छ ।

होइन प्रधानमन्त्रीले भन्नुभएको छ–राम्रा कामहरू गरिरहेकालाई क्याबिनेटमा राख्नुपर्छ भनेर, हटाउन मिल्दैन । तपाईंहरू के गर्नुहुन्छ ?

यी सबै कुरालाई ध्यानमा राखेर एउटा टुंगोमा पुग्नुपर्छ । अहिले हामी एउटा साझा निष्कर्षमा पुगिसकेका छैनौँ ।

होइन साझा निष्कर्षमा पुग्नको लागि कस्तो किसिमको मापदण्ड बन्ला त ?

ठुलो मात्रामा पुनर्गठन गर्ने एउटा कुरा हुन्छ अनि सबैलाई समावेशी ढंगले नयाँ, पुराना, विभिन्न क्षेत्र, जाति, भाषा, पहाड, तराई आदिलाई ध्यानमा राखेर यो मन्त्रीमण्डल बनाउने काम हुन्छ भन्ने मलाई विश्वास छ ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले के–के भन्नुभयो ? उहाँहरूको दृष्टिकोण के आएको थियो तसचिवालयको बैठकमा ? सबै मन्त्रीहरूले राजीनामा दिने हो, सार्वजनिक रूपमा ?

यो एक/एक जनाको भनाईँलाई हेर्नेभन्दा पनि सबैको धारणा भनेको ठुलो मात्रामा हामीले पुनर्गठन गर्ने हो । यसमा ठोस मापदण्ड बनाएर गर्ने हो भन्ने कुरामा सबैको सहमति छ ।

त्यसो भए मन्त्रीमण्डल पुनर्गठन दशैँ अगाडि नै हुन्छ कि दशैँपछि हुन्छ ? कहिले हुन्छ ?

सकेसम्म चाँडो गर्ने भनिएको छ । अब त्यो दशैँभन्दा अघि हुनसक्छ ।

वामदेव गौतम सरकारमा आउने सम्भावना कति छ त, फेरि पनि ? चर्चा सुरु भएको छ । सांसद त बनाउनुभयो तपाईहरूले राष्ट्रिय सभाको ?

सांसद बनेको कोही पनि मान्छेलाई सरकारमा आउनको लागि कुनै कुरा, संविधान, ऐन, कानुनले रोक्दैन । त्यो कुरालाई पनि आवश्यकतामा राखेर ध्यान दिएर एउटा निष्कर्षमा पुगिन्छ ।

त्यसोभए वामदेव गौतमलाई मन्त्री बन्नको लागि नेपालको संविधानले रोक्दैन ? संविधान बाधक छैन ?

बाधक छैन । अहिलेको संविधानले कुनै पनि अपरहाउस वा राष्ट्रिय सभाको सदस्य होस्, चाहे प्रतिनिधि सभाको सदस्य होस्, मन्त्री बन्न सक्छ ।

प्रधानमन्त्रीले भन्नुभएको छ, वामदेव गौतम चुनाव हारेर राष्ट्रिय सभाको सांसद हुनुभएको हो तर नेपालको संविधानमा त प्रस्ट रूवमा चुनाव हारेको व्यक्ति त मन्त्री बन्न पाउँदैन नि त ?

बैठकमा त्यस्तो कुरा कसैले पनि गर्नुभएन । मैले संविधान पढ्दाखेरि मलाई त्यस्तो लाग्दैन ।

संविधान बाधक छ । संविधानका धाराहरू त तपाईले पढ्नुभयो, राम्रोसँग ?

राम्रोसँग पढेँ मैले । मैले धारा ७८ गरेको छु, मैले १, २, ४ पढेँ ।

धारा ७८ को १, २ र ४ पढ्दा तपाईले के के पाउनुभयो त ? वामदेव गौतम त चुनाव हारेको मान्छे हो नि त ?

कुनै पनि बाधा, व्यवधान त्यहाँ छैन । हारेको मान्छे पनि सांसद नभएको बेलामा मन्त्री बन्ने कुरै आउँदैनथ्यो । संविधानले त्यही कुरालाई रोकेको छ । तर सांसद भईसकेपछि कसैलाई पनि मन्त्री बन्न संविधानले रोकेको मलाई थाहा छैन ।

प्रधानमन्त्री के.पी. शर्मा ओली र तपाईहरूको बीचमा अब कुरा ठ्याक्कै मिल्यो, होइन ? विवादहरू केही पनि छैन, पार्टीभित्र ?

हामी सबै कुरा मिलाएर अगाडि बढ्ने प्रयत्नमा छौँ । कति मिल्छ, अब अब व्यवहारमा हेर्दै जानुपर्छ ।

पूर्ण रूवमा कुरा मिलेको छैन, प्रधानमन्त्री र तपाईहरूको बीचमा ?

हाम्रो बीचमा एउटा चर्को रूवमा विवाद देखा परेको थियो, पहिला । त्यो अहिले बल्ल मिलेको छ । अहिले पार्टीेभित्र कुरा मिलेको छ । यी कुराहरू सकारात्मक कुराहरू हुन् । अहिले जनताका समस्याहरू छन्, ती समस्याहरू समाधान गर्न हामी लागिरहेका छौँ ।

तर नेताहरूको नाममा गठन भएको प्रतिष्ठान, फाउण्डेशनहरू बन्द गर्नुपर्छ, गतिविधिहरू बन्द गर्नुपर्छ नि ?

यसबारेमा पनि हामीले छलफल गरेर एउटा कार्यदल निर्माण गरेर त्यसले एउटा मार्गदर्शन र नियमावली बनाउँछ । यो नियमावलीको आधारमा सबै कामहरू सञ्चालन गर्नेगरी हामी अगाडि जान्छौैँ ।

नेताहरूको नाममा बनेका फाउण्डेशनहरू त विवादमा परिरहेका छन् नि त ? बन्द गर्नुपर्छ भनेर नेताहरूले भने ।

जुन फाउण्डेशन पोल्टिकल नेचरका छन्, ती पोल्टिकल नेचरका फाउण्डेशनहरूलाई पार्टी एक ढंगले हेर्नुपर्छ । पार्टीले ठोस नीति लिएर सञ्चालन गर्नुपर्ने हुन्छ । नन् पोल्टिकल फाउण्डेशनहरूलाई हामीलेग गर्नुपर्ने कुरा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!