प्रहरीको हिरासतमा ज्यान गुमाएका रौतहट गरुडा– ८ का विजय महराको शव अझै पनि परिवारले बुझेका छैनन् । महराको शव परिवारले बुझ्न नमान्दा दुई सातादेखि काठमाडौंमै छ । अपराध स्विकार्न प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका उनीहरूले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । गरुडा नगरपालिका– ८ जिंगडियाका २० वर्षीय निरञ्जन रामको ३१ साउनको राति घाँटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा भोलिपल्ट इलाका प्रहरी गरुडाले विजयलगायत सातजनालाई पक्राउ गरेको थियो । २ भदौमा विजयलाई जिल्ला प्रहरी गौरबाट खटेको प्रहरी निरीक्षक नवीनकुमार सिंहसहितको टोलीले महिला सेलको हिरासत कक्षमा कुटेर हत्या कबुल गर्न लगाएको परिवारको आरोप छ । यही क्रममा उनी गम्भीर बिरामी परे ।४ भदौको राति उपचारका लागि वीरगन्ज पुऱ्याइएका विजयको १० गते बिहान मृत्यु भयो । त्यसपछि गरुडामा प्रहरीविरुद्ध प्रदर्शन सुरु भयो । परिवारको मागअनुसार त्यसैवेला उनको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगियो । अहिले पनि शव काठमाडौंमा नै छ । परिवारले छोरालाई यातना दिने सुरक्षाकर्मीविरुद्ध मुद्दा दर्ता, उचित क्षतिपूर्ति, निष्पक्ष छानबिन, सहिद घोषणा, निरञ्जनको हत्यामा संलग्न दुईजना फरार रहेकाले उनीहरूलाई पक्राउ गर्नुपर्नेलगायत माग राखेका छन् । विजयलाई कुटपिट गरेको आरोप लागेका प्रहरी निलम्बनमा परिसकेका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयको शव अहिलेसम्म काठमाडौंमै रहेको बताए ।प्रहरीले हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरेका सातजनालाई कर्तव्य ज्यान मुद्दा चलाइसकेको छ । विजयका बुबा पनिलालले माग पूरा नभएसम्म छोराको शव नबुझ्ने बताए । ‘मेरो छोरालाई प्रहरीले कुटेर मारेको हो । जबर्जस्ती अपराध कबुल गराउने यो कस्तो अनुसन्धान हो ?’ उनले भने, ‘जबसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुँदैन तबसम्म शव बुझ्दिनँ ।’ यता सो घटनाबारे छानबिन समितिले छानबिन कार्यलाई अन्तिम चरणमा पुऱ्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!