बुधबार, साउन २१, २०७७ || 1038  पटक पढिएको

हामीमध्ये अधिकांशमा एउटा के भ्रम छ भने भर्खर जुँगाको रेखी बस्न थालेदेखी दाह्रीकपाल फुल्न शुरु नगरेसम्मको पुरुष युवा हो। सामान्यतया युवा भन्नाले निश्चित उमेर समुहभित्र पर्ने महिला, पुरुष र तेस्रोलिंङ्गी समेतलाई जनाउछ। विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघ संस्थाले आ-आफ्नो अनुकूलतामा युवा उमेर समुहलाई बिभाजन गरेको पाईन्छ। संयुक्त रास्ट्रसंघका विभिन्न निकाय तथा क्षेत्रीय संगठनहरु तथा विश्वका अधिकांश मुलुकहरूका आ-आफ्नै उमेर समुहको वर्गीकरण भएतापनि विशेषत १५-३५ बर्षभित्रका सबै मानिस युवा हुन भन्नेमा सबै सहमत रहेको पाईन्छ। नेपालमा पनि खासगरी १६-४० बर्षभित्रका सबै मानिसलाई युवाको परिभाषाभित्र समेटिएको मानिएता पनि बोलिचाली या चलनचल्तीमा भने वृद्धभत्ता थाप्नु अघिका अधिकांश मानिसलाई ´युवा ` भन्नेगरेको पाईन्छ।

वास्तवमा एकातिर युवा भनेको न पुरुष हो न त महिला नै भने अर्कोतिर दुवै नै हो। युवा लैङ्गिक विषय हुँदै होइन र बायोलोजीकल पनि होइन। फेरि युवा भनेको सारमा जैविक विषय पनि होइन। अनि युवा भनेको मानिस मात्र पनि होइन। युवा-उमेरसमुहभित्र समेटिएको कुनै रुढीबादी व्यक्ति त झन न युवा नै हो न मानिस, उ केवल जैविक वस्तुमात्र हो। तसर्थ युवा नवीन बिचार हो, उर्जा हो अर्थात बिहानीको किरण हो। जोश, जाँगर र हिम्मत हो, परिवर्तनको संवाहक हो। विश्वलाई बदल्न सक्ने जुनसुकै शक्ति युवा हो। समग्रमा युवा चेतना हो। तसर्थ खास उमेरसमुहलाई रुपमा युवा भनिएता पनि सारमा त्यसरी नै बुझ्नु महाभूल हुनेछ। वृद्ध व्यक्तिको मगजबाट उत्पादित नवीन बिचार र लक्काजवान व्यक्तिको पुरातनवादी सोच दुबैलाई युवाको एउटै तराजुमा राख्नै मिल्दैन।

जुनसुकै वस्तुको पनि तीनवटा चरण वा काल (पुर्वार्ध, मध्य र उत्तरार्ध) भएजस्तै युवा उमेर समुहलाई पनि सोहिबमोजिम अर्ली युथ एज, मिड युथ एज र लेट युथ एज गरि क्रमशः १६-२४, २५-३२ र ३३-४० गरि तीन चरणमा वर्गीकरण गर्न सकिन्छ। यसरी हेर्दा अघिल्ला दुइवटा चरणका युवाले एकखाले चेतना, प्रवृती र सोच अंगालेको पाईन्छ जस्तै:- सहपाठी संग यौन आकर्षण वा प्रेम सम्बन्धदेखी लिएर सामाजिक संजालमा विभिन्न ट्रोल बनाउने, पढाइ साथै जागीरको खोजिमा दौडधुप गर्ने र विवाह वा घरजमको बारेमा सोच्ने। न त उनिहरु परिवार, समाज र मुलुकप्रती चिन्तित वा जिम्मेवार रहेको पाईन्छ न त आफ्नै भविस्यप्रती। विभिन्न सामाजिक संजालको विकास र प्रयोग संगै यी युवाहरूमा ज्ञान प्राप्त गर्ने आयाम त धेरै होलान तर मुलुकको राजनीतिक, आर्थिक, सामाजिक-सांस्कृतिक अवस्थाबारे उनिहरु अज्ञातप्राय: छ्न किनकि त्यसप्रति उनिहरु चासो नै राख्दैनन। यसले के प्रष्ट पार्दछ भने अब विकसित भैरहेका युवा पुस्तामा राजनीतिक चेतनाको विकास नगर्ने हो भने अन्ततोगत्वा गैह्रराजनीतिक व्यक्ति सत्तामा पुगेर हावी हुने र दिशाहिनताको कारण मुलुक दुर्घटनामा पर्नसक्ने ठूलो खतरा छ। म यहाँनेर के स्मरण गर्न चाहन्छु भने केहिदिन अघिमात्र फेसबुकमा एकजना मित्रले आफ्नो छिमेकी महिला हराएको र खोजिकार्यमा सहयोगको अपेक्षा सहितको सूचना पोस्ट गरेका थिए। अधिकांश युवाहरुले पोइला गई होला, नाठो खेलाएर बसेकी होली इत्यादी लगायत चरित्रसंग जोडेर कमेन्ट गरेको पाईयो। यसले आजका युवाको चेतनास्तर र भविस्यमा उनीहरुबाट मुलुकले गर्ने आशा सम्बन्धमा सबैकुरा छर्लङ्ग पार्छ। के एउटी महिला हराउनुको पछाडी एतिमात्र कारण हुनसक्छन? हामी किन कुनैपनी कुरालाई सकारात्मक रुपमा सोच्न वा ग्रहण गर्न सक्दैनौं ? यसले आजका युवाहरूमा सामाजिक-सांस्कृतिक रुपान्तरणको अपरिहार्यतालाई प्रष्ट पार्दछ। ईन्टरनेट को बढ्दो प्रयोग, बाबुआमाको व्यस्त शहरिया जीवनशैली, सहपाठी तथा साथीभाइको संगत र व्यवहार, सामाजिक-पारिवारिक वातावरण आदिले युवाको सर्वाङ्गीण विकासको सन्दर्भमा महत्त्वपूर्ण अर्थ राख्छन। सामाजिक-सांस्कृतिक चेतना र संस्कार सहितको पारिवारिक वातावरणमा आफ्ना केटाकेटी हुर्काउन सकेमात्र “आजका युवा भोलिका कर्णधार” भन्ने भनाई चरितार्थ हुनेछ।

संसारका हरेक मुलुकले युवासम्बन्धी विभिन्न पोलिसी निर्माण गरेको पाईन्छ। मुलुकको सर्वाङ्गीण क्षेत्रमा युवाको व्यापक सहभागिता समेत गराएको पाईन्छ। फिनल्यान्डमा ३४ बर्सकी महिला प्रधानमन्त्री सहित सोही उमेर आसपासका थप तीन महिला मन्त्री भैइ मुलुक हाँकिरहेका छन। छिमेकी मुलुक भुटानमा समेत निक्कै सुदृढ र पृथक राजनीतिक व्यवस्था, चुस्त सुरक्षा प्रणाली र जनउत्तरदायी सरकार भएकै कारण विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस पूर्णत नियन्त्रणमा छ। संक्रमितको संख्या दुई अंकमा छ भने मृत्यु शुन्य छ। सायद नेपालमा भने मरणोपरान्त मात्र सार्वजनिक पद वा राजनीतिबाट टाढा हुने स्थितिका कारण युवालाई राजनीतिप्रती वितृष्णा जागेको होइन भन्न सकिन्न। राजनीति प्रती चासो राख्ने र कुनै न कुनै रुपमा संलग्न उत्तरार्ध उमेर समुहका युवा भने अर्कैको डमरु र घण्टी बजाउछ्न। अफ्नो चेतना र दृस्ठिकोणलाई अघि सार्ने ल्याकत राख्दैनन। तथापि यहाँनेर राजनीतिमा पुस्तान्तरणको आवस्यकता र अपरिहार्यतालाई सबैले महशुस गरेको भएता पनि उच्चस्थ नेतृत्व सो कुरामा न ध्यान दिन्छ न त जोखिम नै मोल्छ किनकि त्यो कदम आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्ने उसले ठान्दछ। राजनीतिका अलावा युवालाई लक्षित गरेर विभिन्न उद्द्योगधन्दा, पेशा व्यवसायका लागि आकर्षण गर्न खोजिए पनि त्यसको कार्यान्वयन पक्ष्य अत्यन्तै फितलो भएको पाईन्छ। कोहिपनी युवा प्रत्यक्ष लाभान्वित भएको हालसम्म प्राप्त भएको छैन। जबसम्म हरेक क्षेत्रमा विद्यमान बिचौलिया प्रवृती राजनीतिमा समेत हावी भइराख्छ तबसम्म जस्तोसुकै पोलिसी बनाईएपनी बिचबाटोमै अलमलिएर लक्षित समुदाय वा वर्गसम्म आईपुग्नै सक्दैन ।

शिक्षाप्रणालीलाई जबसम्म श्रम, रोजगार र उत्पादन संग को-रिलेट गर्न सकिँदैन तबसम्म न युवाको चेतनामा परिवर्तन आउँछ न त मुलुकको अर्थव्यवस्थामा नै। पढेर के गर्नु? बरु बिदेश गए परिवार पालिन्छ भन्ने एकथरी र राजनीति फोहोरी खेल हो, नेताहरु सब खराब हुन अनि नेपालमा पढेर के गर्नु जागिर खान सोर्सफोर्स चाहिन्छ भन्दै उच्च शिक्षाको नाममा बिदेश पलायन हुने अर्कोथरी अनि स्वदेशमै बसेर केही गर्न खोजेपनी अवसर नपाईरहेका युवा जमातबाट दशकौंदेखि लादिएको निराशापूर्ण चेतनाका कारण अबका युवा न त राजनीतिप्रती आकर्सित भइरहेको पाईन्छ न त कुनै पेशा व्यवसायप्रती। यो अवस्थाको बेलैमा राज्यले सम्बोधन गर्न जरुरी छ नत्र यो अवस्थाले नेतृत्वबिहिनता, ब्रेन ड्रेन लगायत समस्या सृजना गराइ मुलुकलाई अस्थिरतातर्फ धकेल्न प्रेरित गर्नेछ। तसर्थ घर-घरबाट, स्कुल-स्कुलबाट अथवा गाउँ समाज सबैतिरबाट सामाजिक सांस्कृतिक रुपान्तरण सहितको शिक्षित, सभ्य र सुसंकृत नागरिक निर्माणको महाअभियान संचानल गर्नुपर्ने देखिन्छ। यसका अलावा सरकारका हरेक निकायमा युवामैत्री वातावरणको सुनिश्चितता गर्दै हरेक पेशा-व्यवसाय तथा रोजगारीमा युवा सहभागिताको कार्यान्वयन गराउने, शिक्षा प्रणालीमा हेरफेर गरि आवश्यक जनशक्तिको उत्पादन तथा रोजगारीको व्यवस्था राज्यले तत्काल गर्नसकेमात्र व्यापक युवा सहभागिता सहित मुलुकले संवृद्दिको यात्रामा गुणात्मक फड्को मार्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!