काठमाडौँ उपत्यकाका धेरै स्थानमा यतिबेला मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षासँगै काठमाडौँमा बग्ने खोलाहरुको जलस्तर बढ्दो क्रममा रहेको छ ।
महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा उपत्यकाको धेरै स्थानमा मध्यम वर्षा मापन गरिएको हो । अहिले विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायतका खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडक सम्म आउन सक्ने महाशाखाले जनाएको छ । अर्को ३ घण्टा सतर्क रहन महाशाखाको अनुरोध छ ।
उता, बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ । नदी किनार र डुवान भईरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको छ ।
त्यस्तै, पछिल्लो ३ घन्टामा पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको र थप वर्षा हुन सक्ने, डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । राप्तीमा पनि जलसतह केहि बढ्ने हुनाले डुवान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क महाशाखाको अनुरोध छ ।