भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन ५ अगस्तमा हुने भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले शनिबार प्रधानमन्त्री कार्यालयलाई ३ र ५ अगस्तको सम्भावित मिति पठाएको थियो । मिडिया रिपोर्टका अनुसार प्रधानमन्त्री कार्यालयले ५ अगस्तको मिति चुनेको हो । यसमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सामेल हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रस्टले शनिबार यसबारे छलफल गर्न बैठक आयोजना गरेको थियो । यसमा राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रसहित १२ सदस्य सहभागी थिए । ती सदस्य भिडियो कन्फ्रेन्सिङको माध्यमबाट बैठकमा सामेल भएका थिए । ट्रस्टका अध्यक्ष महन्त नृत्यगोपाल दासले प्रधानमन्त्रीलाई अयोध्या आउन यसअघि नै निमन्त्रणा पत्र पठाइसकेका छन् ।
अयोध्यामा १६१ फिट अग्लो राम मन्दिर बनाउने तयारी छ । ट्रस्टका महासचिव चम्पत रायले शनिबार मनसूनपछि परिस्थिति सामान्य भएपछि मन्दिर निर्माणको आथिक सहायकताका लागि देशका १० करोड परिवारसँग सम्पर्क गरिनेछ । मन्दिरको तीन देखि साढे तीन वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ ।
रायका अनुसार मन्दिर निर्माण गरिने स्थानमा रहेको भग्नावशेषलाई विस्तारै हटाएर समतल बनाइनेछ । जमिनबाट प्राप्त भएको अवशेषलाई सबैले हेरेका छन् । ६० मिटर गहिराइसम्म खनेर जमिनको परीक्षण गरिदैछ ।