रौतहटको गजरा नगरपालिकाको बोर्ड बैठकले नगरपालिकाकी उपमेयर रौसन खातुन शेखलाई अनुगमन समितिबाट हटाउने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बोर्ड बैठकले उममेयर खातुनलाई योजना अनुगमन समितिको अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।
स्थानीय तहमा विकास योजना अनुगमन र सिफारिस गर्ने अधिकार उपप्रमुखलाई संविधानले दिएको छ । तर,उपमेयर सेखले उक्त अधिकारको दुरुपयोग गरेको ठहर गर्दै अनुगमन समितिको पदबाट हटाउने निर्णय गरेको गुजरा नपा ४ का वडा अध्यक्ष पवनराज गिरीले जानकारी दिए । सेखले अनुगमन नगर्ने, भएको कामको पनि सिफारिस नगर्ने तथा सिफारिसमा विभेद गर्ने गरेकाले हटाउनु परेको वडाअध्यक्ष गिरीको भनाई छ ।
कार्यपालिकाको बहुमतले गरेको निर्णयमा उपमेयर शेखले समेत हस्ताक्षर गरेकी छन् । उपमेयरका श्रीमान सेख बदरुदिनले कार्यपालिका बोर्डको बैठकमा खातुनलाई झुक्याएर हस्ताक्षर गराएको दावी गरेका छन । एकैपटक ५ वटा निर्णय पुस्तिकामा उपमेयरसँग हस्ताक्षर गराएकाले उनले सबै निर्णय पढ्न नसकेको बदरुदिनले स्वीकार गरेका छन । संबैधानिक अधिकारलाई कसैले बलपूर्वक कटौती गर्न खोजेमा आफू न्यायका लागि अदालत जाने उपमेयर सेखले बताएकी छन् ।