वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा राजनीतिक परिवर्तनले स्थायित्व ल्याएको भए पनि अहिले समाजमा मानिसको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन सकेमात्र विकासको पूर्वाधार दीगो हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभा बैठकको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै प्रदेश सरकार र स्थानीय निकायको सहकार्यबाट जनतालाई विकासको पूर्वाधारप्रति दीगो लाभ पुग्ने योजना तर्जूमा गर्ने वातावरण तयार गर्न नगरसभाले सकारात्मक भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो । उहाँले वाग्मती प्रदेशको हेटौँडामा प्रदेश विश्वविद्यालयको स्थापना गर्न र हेटौँडा अस्पतालकोस्तर उन्नतिको लागि प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहकार्य आवश्यक रहेको र भविष्यमा ती योजनालाई कार्यान्वयन गर्न बजेट विनियोजित गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधिले आपसमा समझदारी कायम गरेर नगरक्षेत्रको वातावरणमा सुधार, खानेपानी, पर्यटन, खेलकूद, साहित्य र भ्यू टावर जस्ता योजनालाई सञ्चालन गर्न आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनुभयो । उहाँले कोभिडको प्रभावले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई प्रत्यक्ष रोजगारको लागि वैकल्पिक रुपमा आय–आर्जन गर्ने प्याकेज कार्यक्रम ल्याउन पनि स्थानीय जनप्रतिनिधिलाई आह्वान गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले आगामी आव ०७७÷७८ को लागि कूल दुई अर्ब ८६ करोड ६६ लाखको अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक गरिएको बजेटमा मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक स्थापित भएको पुरानो चुरिया सुरुङमार्ग सञ्चालन गर्ने र हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडामा निर्मित मनमोहन भ्यू टावरको स्तरोउन्नति गरी प्राविधिक प्रविधिबाट सञ्चालन गर्नेतर्फ बजेट विनियोजित गरिएको उहाँले बताउनुभयो । उहाँले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा कोरोनाबाट मृत्यु भएमा मृतकका आफन्तलाई रु तीन लाख राहतस्वरुप उपलब्ध गराउने उल्लेख छ । नगरमा जैविक फोहरको व्यवस्थापन र वैकल्पिक ऊर्जाको उत्पादन गर्ने, हेटौँडामा बिपी गणेशमान र मनमोहन पार्कको स्थापना गर्ने योजनालाई कार्यान्वयन गर्ने तर्फ जोड दिइएको छ । त्यसैगरी हेटौँडा अस्पतालमा मिर्गौला बिरामीलाई नियमित डाइलाइसिस सेवा उपलब्ध गराउनेतर्फ आवश्यक व्यवस्थापन गरिसकिएको र छिट्टै डाइलाइसिस सेवा शुरु गरिने पनि उपप्रमुख लामाले जानकारी दिनुभयो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरपालिका क्षेत्रभित्रका वडामा वातावरणको सुधार, खानेपानी, सडक, ढलको निकास, सडक कालोपत्र, वृक्षरोपण र कोभिड पत्रकार बीमा गर्ने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले सो अवसरमा मकवानपुरका अग्रज पत्रकार नवराज शर्मालाई उपमहानगरपालिकाको तर्फबाट अग्रज पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभयो । उहाँले नगद रु १७ हजारसहित प्रशंसापत्र प्राप्त गर्नुभएको छ । यसैगरी विकास पत्रकारिता पुरस्कारतर्फ सुदिप शिवाकोटी, सुवास विडारी सरिता दाहाल, प्रकाश दाहाल, कृष्णउदास खनाल र सुरेश श्रेष्ठलाई सो अवसरमा पुरस्कृत गरियो । उहाँहरुलाई नगद रु १३ हजार ५०० र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!