
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलले बुधबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै मन्त्री पटेलले मधेसका युवालाई केन्द्रमा राखेर कार्यक्रम ल्याउनु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।

जेन–जी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्दै युवाहरूले सुरु गर्न लागेका व्यवसायमा विशेष किसिमको छुट र सहुलियतको व्यवस्था गर्ने आफ्नो लक्ष्य रहेको मन्त्री पटेलले बताए। साथै, युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने योजना समेत अघि बढाइने उनले जानकारी दिए।
मन्त्री पटेलले सङ्घ सरकारसँग समन्वय गरेर मधेसका धार्मिक स्थलहरूको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासका लागि ठोस योजना ल्याइने बताए। मधेस प्रदेशको समग्र विकासका लागि उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रअन्तर्गत हाल सञ्चालनमा रहेका योजनाहरूलाई तीव्रताका साथ अगाडि बढाइने उनको भनाइ छ।
चालु आर्थिक वर्षभित्र नै सञ्चालनमा रहेका योजनाहरू सम्पन्न गर्ने लक्ष्य लिइएको मन्त्री पटेलले स्पष्ट पारे।
गत मङ्सिर २१ गते कृष्ण यादवले मधेस प्रदेशको मुख्यमन्त्रीका रूपमा शपथ लिँदा कनिस पटेल विना विभागीय मन्त्री बनेका थिए। पछि मुख्यमन्त्री यादवले दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।