खबर ठुलो छ

आर्थिक वर्ष २०७३÷७४ को बजेटमा कञ्चनपुरको पुनर्वास नगरपालिकाले वडा नम्बर ८ को आनन्दबजार छेउको नेपाल भारत सीमा क्षेत्रमा हयूमपाईपका लागि ५ लाखको बजेट छुट्यायो। स्थानीयले ह्यूमपाईप जडान गरेर त्यसमा ग्राभेल भरे। बेस्रमको झाँडी र पानी जमिराख्ने त्यो ठाउँमा स्थानीयलाई वारीपारि जान समस्या थियो। त्यसैले नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेर ह्यूमपाईप हाली अस्थायी बाटो बनाइदियो।

बर्खाका बेला साइकल काँधमा बोकेर जानुपर्ने बाध्यता र मोटरसाइकल, जीप कार त बन्द नै हुने समस्या समाधान भएको भन्दै स्थानीय खुसी भएका थिए। तर फागुनको २५ गते भारतको केन्द्रीय सरकार मातहत रहेको सिक्रेट सर्भिस ब्यूरो (एसएसबी) ले आनन्दबजारनजिकै बनाइएको त्यो कलभर्ट भत्काउन थाल्यो। बल्ल बल्ल आएको बजेट र स्थानीयको मेहनत, एसएसबीले भत्काउन थालेपछि स्थानीय जम्मा भएर विरोध सुरु गरे। तर एसएसबीले नेपालतिरको आनन्दबजारमै आएर राति ८ बजेसम्म नेपालीलाई छानी छानी कुटे। ‘साँझ परेको थियो, एसएसबीले पसल पसलमा आएर नेपालीलाई कुटे, त्यो खबर गाउँभर फैलियो। अनि सिमानामा आन्दोलन भयो’, पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायणप्रसाद जैसी भन्छन्। दोस्रो दिनको आन्दोलन सशक्त भयो। फागुनको २५ गते राति नेपालीमाथि गरिएको कुटपिट र ज्यादतीविरुद्ध फागुनको २६ गते बिहानैदेखि आनन्द बजारमा नेपालीले प्रदर्शन गरे।

हजारौंको भीड जम्मा भयो। त्यहीबेला भारतीय एसएसबीले पारीबाटै गोली हाने र स्थानीय युवक गोविन्द गौतम सहिद भए। गोविन्द गौतमको घर सीमारेखादेखि ५ सय मिटर मात्रै नेपालतिर छ। ‘विदेशबाट घर आएका युवा, सीमा मिचेको सहन सकेनन्, छातीमा गोली खाए’, वडाध्यक्ष जैसी भन्छन्, ‘सीमा जोगाउन सरकारका सुरक्षाकर्मी होइन, सीमाक्षेत्रका जनता अग्रपंक्तिमा छन्।’ कल्भर्ट बनाएको ठाउँ नेपाली भूमि हो। अझ त्यसको पाँच सय मिटर परसम्म नेपाली भूमि भएको स्थानीय बताउँछन्। त्यहाँ भएका साविकको पिलर संख्या दुई सय गायब छ। ‘न खोला छ, न त नदीले बगायो भन्नु छ, भनेपछि त्यो पिलर भारतीय सुरक्षाकर्मीले नियतवश गायब पारेका हुन्’, स्थानीय लोकेन्द्र लम्साल भन्छन्, ‘नजिकैको प्याराताललाई उसले आफ्नो बनाउन खोजेको छ।’

आनन्दबजार नजिकैको पिलर हटाएर त्यसको सोझो रेखांकन गर्ने र प्याराताल भारततिर पार्ने उसको चाल भएको स्थानीयको दाबी छ। भारतको दुधवा नेशनल पार्कको छेउमा रहेको प्याराताल सिमसार क्षेत्र हो। भारतले प्याराताल मात्रै आफ्नो बनाउन सके दुधवा नेशनल पार्कका वन्यजन्तुका लागि पानीको स्रोत हुने स्थानीय बताउँछन्। पुनर्वास नगरका कुवेर नाथले सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीको दादागिरी परम्परादेखि चलिआएको जानकारी दिए। उनी भन्छन्, ‘व्यक्तिगत लिनुदिनु त केही छैन, तर आँखाअगाडि सिमाना मिचेको कसरी सहनु ? ’

स्थानीयको वस्तुभाउ चराउने वन त्यहीँ भएकाले सानैदेखि पिलर थाहा भए पनि ६ किलोमिटरको दूरीसम्म रातारात गायब भएको बताउँछन्। ‘२०६१÷६२ को संयुक्त सर्भे टीम आउनुअघि नै भारतले ती पुराना पिलर नेपालतर्फ सार्‍यो किनकि उसको प्राथमिकतामा प्याराताल थियो’, नाथले भने।

२०४२ सालसम्म तत्कालीन जिल्ला पञ्चायतले प्यारातालको माछा मार्ने ठेक्का लगाउँदै आएको नाथको भनाइ छ। तर, २०६१÷६२ सालको संयुक्त सीमा सर्भे टीमले नेपालको भूमिमा गाढेका पिलर स्थानीयले आन्दोलन गरी भत्काएका छन्। ‘सीमाक्षेत्रका जनताले सिमानाका लागि लड्थेनन् भने तराईको धेरै भाग भारतमा गाभिसक्यो, त्यसैले सिमानाका रक्षक सीमामा बसेका नागरिक हुन्’, नाथले भने। भारततिर एसएसबीका हरेक दुई÷दुई किलोमिटरमा पोष्ट छन् तर त्यसको तुलनामा नेपालतिर सशस्त्र प्रहरीका पोष्ट कम छन्। कैलाली र कञ्चनपुरको सिमानामा विवाद भइराख्ने भएपछि पछिल्लो केही समययता मात्रै सशस्त्र प्रहरीका पोस्ट स्थापना गरिएका छन्। कैलालीमा मात्रै तीनवटा बर्डर आउट पोष्ट (बीओपी) रहेकोमा पछिल्लो केही महिनामात्रै ६ वटा बढाइएको छ।

कञ्चनपुरमा मात्रै होइन, कैलालीको कैलारी गाउँपालिकाका बासिन्दाबाट त भारतीय सुरक्षाकर्मीले हरेक सिजनमा गहुँ र धान संकलन गर्छ। उसले आफ्नो नेशनल पार्कको क्षेत्रमा कुनै नाली खन्ने र भवन बनाउने काम गर्नुपर्‍यो भने महिनौंसम्म ज्याला नदिने गरी निःशुल्क मजदुरीसमेत गराउँछ। ‘सिजनमा गहुँ र धान उठाउने रहेछन, अनि निःशुल्क श्रम पनि गराउने, त्यसो नगरेमा भारत जाने बेला पक्राउ गर्ने, थुन्ने, कुटपिट गर्ने भनेपछि सीमा क्षेत्रका थारुहरू खुसुखुसु मजदुरी गर्ने रहेछन्, त्यो कुरा मैले सदनमा पनि उठाएको छु’, कैलाली निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य वीरमान चौधरीले भने। त्यो उनकै निर्वाचन क्षेत्र हो। उनले सीमा मिचेर नाली खन्ने, नेपालको भूमिमा कच्ची संरचना बनाउने र बिस्तारै बिस्तारै त्यो कब्जा गर्ने कार्यहरू सीमामा भइरहेको बताए। ‘तर ती थारु समुदाय आफैं लड्न पनि जान्छन्, प्रशासनलाई पनि खबर गर्छन् र त भूमिको रक्षा भएको छ’, प्रदेशसभा सदस्य चौधरीले भने।

सीमा विवाद सधैं उस्तै

कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि पछिल्ला तीन वर्षदेखि नेपाल–भारत संयुक्त सर्भे टोलीले कार्य गरिरहेकै छ। तर, कञ्चनपुरको प्याराताल, आनन्दबजार, ब्रम्हदेव र कैलालीको फूलबारीसहितका स्थानमा अझै सीमा विवाद सुल्झाउन सकेको छैन। कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमको भारतीय एसएसबीले हत्या गरेपछि उक्त सर्भे टोलीको गठन गरिएको थियो। लामो समयदेखि सीमा विवाद रहेको कैलाली र कञ्चनपुरका लागि नापी विभागले छुट्टै सीमा सर्भेक्षण टोली गठन गरेर फिल्डमा पठाएको छ।

सीमा क्षेत्रमा लामो विवाद भएपछि २०७४ को पुसमा तत्कालीन नापी विभागले प्रमुख नापीअधिकृत सुदर्शन सिंह धामीको टोली पठायो। त्यो टोलीले रेकी (हेर्ने काम) बाहेक केही गर्न सकेन। त्यसपछि जनकराज भट्ट र धामीकै नेतृत्वको टोली सीमा सर्भे गरिरहेको छ तर पनि त्यसको समाधान हुन सकेको छैन। कैलालीको टीकापुर नगरपालिका क्षेत्रभित्र मात्रै दुई देशका पाँच मुख्य र १३ मझौला गरी १८ वटा सीमा स्तम्भ हराएका छन्।

मंगलबार, आषाढ ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया