शुक्रबार, जेठ ३०, २०७७ || 573  पटक पढिएको

धुमधामसँग बिहे गर्ने योजना थियो । त्यही सपना पूरा गर्न रास्कोटका मानबहादुर बम र दैलेख गैरागाउँकी राधिका शाही भागेर भारत गए । एक वर्षसम्म दुवैले उतै पसिना बगाए । बिहेका लागि खर्च जुटाएर गाउँ फर्किए । तर यो जोडीको धुमधाम बिहे गर्ने सपना कर्णालीमा बग्यो ।

लालीघाटमा बुधबार भएको टिपर दुर्घटनामा उनीहरूले मुस्किलले ज्यान त जोगाए । तर बिहेका लागि भनेर ल्याएको सबै कमाइ र सामान कर्णालीमा बगेको छ । मानबहादुरले भने, ‘बिहेका लागि भने अढाई तोला सुन, एक लाख ५० हजार नगद र सामान ल्याएका थियौं, सबै टिपरसँगै कर्णालीले बगायो ।’ घर पुगेर धुमधाम बिहे गर्ने योजना तत्कालका लागि तुहिएको उनले सुनाए । रास्कोट ३ का धनरूप कुमालको पनि सपना छुट्टै थियो । उनी यो वर्ष पत्नीसहित भारत गएका थिए । धेरै पैसा कमाएर ल्याउने आशमा गत पुसमा उनीहरू भारत गएका थिए । दुईजनाको कमाईले लुगालत्ता तथा खाद्यान्न किन्ने र छोरालाई बोर्डिङ स्कुलमा पढाउने सपना थियो यो जोडीको । खर्च कटाएर ६५ हजार बचाएका थिए । १५ हजारका लुगा किने । तर उनीहरूको सपना पनि कर्णालीमा बग्यो । ‘कपडासँगै ५० हजार उनैले राखेकी थिइन्’, धनरूपले भने, ‘दुर्घटनामा सबै कमाइ बग्यो, उनलाई पनि जोगाउन सकिनँ ।’

टिपर दुर्घटना भएपछि जिल्लाका धेरै परिवारको खुसी खोसिएको छ । भारतबाट कमाएर ल्याउने आशमा गएका सबै रित्तो हात भएका छन् । बल्लतल्ल केहीले ज्यान जोगाए पनि सबैको कमाइ नदीमा बगेको छ । रास्कोटकै २१ वर्षीय कपुरे सार्कीको आर्थिक अवस्था निकै नाजुक छ । बर्सेनि भारतबाट ल्याएको कमाइले परिवारको खर्च चल्थ्यो । भारत जाँदा आमालाई राम्रो सारी, भाइलाई कपडा र आफ्नो बिहे गर्दा चाहिने खर्च जोहो गरेर फर्किएका थिए । उनको पसिना पनि सबै कर्णालीमा बगे । उनले भने, ‘गुड्दै गरेको टिपरबाट हाम फालेर ज्यान जोगाएँ, कमाई सबै बग्यो ।’ याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!