
काठमाडौं– नेपाली कांग्रेस तथा अन्य दलहरूसँग चुनावी तालमेलको सम्भावना कमजोर बनेपछि नेकपा एमालेले प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गर्ने तयारी गरेको छ।

एमालेले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमार्फत प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रका उम्मेदवार टुंग्याउने छ। कांग्रेसभित्र आन्तरिक विवाद बढेर दुई समूहमा विभाजन भएपछि गठबन्धनको सम्भावना टरेको एमालेको निष्कर्ष छ।
प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार फागुन २१ गते हुने निर्वाचनको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवार मनोनयन हुने भएकाले पार्टीले त्यसअघि नै नामावलीलाई अन्तिम रूप दिन लागेको हो। हालसम्म अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम तल्ला कमिटीबाट सर्वसम्मत सिफारिस भइसकेको छ।
अहिलेसम्म कुनै पनि दलसँग औपचारिक गठबन्धन नटुंगिएकाले एमालेले सबै क्षेत्रमा सूर्य चिन्हबाट उम्मेदवार खडा गर्ने तयारी गरेको हो। कांग्रेसभित्र देउवा र गगन थापा समूहबीच विवाद चर्किँदा निर्वाचन आयोगबाट आधिकारिकता टुंगो लाग्न नसकेको अवस्थामा तालमेल तत्काल सम्भव नदेखिएको एमालेको आकलन छ।
कांग्रेसको विभाजन र राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभावबीच एमालेले अघिल्लो निर्वाचनको उपलब्धि जोगाउने चुनौती सामना गरिरहेको छ।