
विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर क्रिकेट लिग यही शुक्रबारदेखि विराटनगरस्थित मेरिवोन–विराटनगर ज्वाला क्रिकेट मैदानमा सुरु हुने भएको छ।

प्रतियोगिताबारे जानकारी दिन आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले कोशी प्रदेशमा क्रिकेटको विकास गर्ने उद्देश्यले लिग आयोजना गर्न लागिएको बताए।
लिगमा मोरङका ८ वटा क्रिकेट क्लब सहभागी छन्। सहभागी क्लबलाई दुई समूहमा विभाजन गरी लिग चरणका खेलहरू सञ्चालन गरिनेछ। दुवै समूहका शीर्ष टोलीबीच माघ १० गते फाइनल खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। समूह ‘ए’ मा मिल्स क्रिकेट एकेडेमी, विराटनगर क्रिकेट एकेडेमी, इलाइट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लब एकेडेमी छन् भने समूह ‘बी’ मा लाइन्स क्रिकेट एकेडेमी, कटहरी क्रिकेट एकेडेमी, सिद्धार्थ क्रिकेट एकेडेमी र डाइनामिक क्रिकेट एकेडेमी सहभागी रहनेछन्।