शुक्रबार, जेठ २३, २०७७ || 940  पटक पढिएको

दार्चुलाको कालापानी क्षेत्रमा नेपाली नागरिकलाई जानबाट रोक्दै आएको भारतले पछिल्ला दिनमा आफ्नै नागरिकलाई पनि त्यहाँ जानबाट रोक्न थालेको छ ।

भारतको उत्तराखण्ड प्रदेशमा लकडाउनका कारण लगाइएका प्रतिबन्ध लगभग अन्त्य भइसकेको अवस्थामा सीमा क्षेत्रमा भने विभिन्न प्रकारका प्रतिबन्ध जारी राखिएको छ । जसअनुसार यतिबेला भारतीय प्रशासनले कालापानी क्षेत्रमा जान आफ्ना नागरिकलाई रोक लगाएको छ ।

नेपाल–भारत सीमा विवादका कारण कालापानी क्षेत्रमा भारतीयलाई जान भारतको स्थानीय प्रशासनले रोक लगाएको हो ।

महाकाली पारी भारतका हिन्दु धर्मावलम्बी लामो समयदेखि आफन्तको मृत्युपछि अस्थी विसर्जनका लागि महाकाली नदीमा जाने गरेका भए पनि केही साता यता भारतीय प्रशासनले कालापानी क्षेत्रमा प्रवेश नै नदिएका कारण कयौं भारतीयले महाकालीमा अस्थी बिसर्जन गर्नसमेत नपाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय अखबार दैनिक भास्करका अनुसार नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा दावी गर्दै नयाँ नक्सा जारी गरेपछि भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाबासीलाई कालापानी जान समस्या भएको हो । पछिल्लो समय भारतीय अर्धसैनिक बल, भारतीय सेनाका अतिरिक्त अरु कसैलाई पनि कालापानी क्षेत्रमा जान अनुमति नदिइएको पिथौरागढ जिल्लाको प्रशासनले जनाएको छ ।

नेपाल र भारतबीच पछिल्लो सीमा विवाद अघिसम्म कालापानी जान भारतीयलाई कुनै प्रकारको रोक थिएन । भारतका रक्षामन्त्री राथनाथ सिंहले उद्घाटन गरेको सडकसमेत अहिले सुनसान रहेको जनाइएको छ ।

धारचुलाका ‘सव–डिभिज्नल मजिस्ट्रेट’ (एसडिएम) अनिल शुक्लाले दैनिक भास्करसँग भनेका छन्, ‘माथिबाट आदेश आएको छ कि कसैलाई कालापानी जान अनुमति जारी नगर्नू भनेर, लकडाउन पूर्ण रुपमा खुलेपछि पनि यस्तो अनुमति जारी हुँदैन ।’

यस्तो रोक किन लगाइएको हो भन्नेबारे अनिलले थप खुलाउन चाहेनन् । स्थानीयबासी भने नेपालसँगको सीमा विवादकै कारण सो क्षेत्रमा जान रोक लगाइएको बताउँछन् ।

बस्ती भारतको, भाषा नेपालको !

नेपालको दार्चुला जिल्लासँग मिल्दो नाम भएको भारतीय बस्ती छ, धारचुला । भारतीय बस्ती भनिए पनि त्यहाँ नेपाली भाषी अधिक छन् । दैनिक भास्करले आफ्नो रिपोर्टमा उल्लेख गरेअनुसार धारचुलाका घर–घरमा नेपाली रेडियो च्यानल बजाउने गरिन्छ । बस्तीमा नेपाली गीत, भाषा र संस्कृति पाइने उल्लेख गर्दै दैनिक भास्करले लेखेको छ, ‘नेपाली संगीत जमेर सुनिन्छ, यहाँको बोली, भाषादेखि लिएर परम्परा सबै नेपालसँग मिल्छ ।’

सांस्कृतिक समानतामात्र होइन, अन्य मूलभूत विषयमा दुवैतिरका बासिन्दा एकअर्कामाथि निर्भर देखिन्छन् । नेपालतिरबाट किनमेलका लागि धारचुला आउनु र धारचुलाका बासिन्दामात्र नभई भारतीय सुरक्षाकर्मीले समेत सम्पर्कका लागि नेपाली सीम बोक्नुपर्ने बाध्यता छ । किनकि सो क्षेत्रमा भारतको मोबाइल नेटवर्कले काम गर्दैन । त्यहाँ सम्पर्कका लागि नेपाली मोबाइल नेटवर्क नै उपयुक्त विकल्पका रुपमा रहेको बताइन्छ ।

पछिल्लो दिनमा भारतले हालै निर्माण गरेको सडकमा सैन्य गतिविधि बढेको र नेपालतिर पनि सीमा क्षेत्रमा गतिविधि बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!