काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा पुस्तान्तरण, रूपान्तरण र युवा नेतृत्वको सुनिश्चितताका लागि ठोस र क्रान्तिकारी प्रस्तावहरू प्रस्तुत गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउन पुस्तान्तरण अपरिहार्य रहेको धारणा राखे। मुलुकमा हाल देखिएको जेन-जी आन्दोलनलाई अवसरका रूपमा लिनुपर्ने भन्दै उनले युवाले उठाएका सुशासन, भ्रष्टाचार अन्त्य, रोजगारी र आर्थिक समृद्धिजस्ता माग जायज रहेको स्पष्ट पारे।
“यो विद्रोहलाई युवाको न्यायोचित आक्रोशका रूपमा बुझेर पार्टीले आत्मसमालोचना गर्नुपर्छ,” पौडेलले भने।
उनले पार्टीभित्र “डिजी युथ कांग्रेस” गठन गर्ने अवधारणा प्रस्तुत गर्दै वडादेखि केन्द्रसम्म युवा सहभागिता अनिवार्य गरिने नेतृत्व संरचना निर्माणको प्रस्ताव गरे।
देशको वर्तमान शासन व्यवस्था खर्चिलो र अलमलिलो भएको भन्दै पौडेलले संघीय संरचना पुनः समीक्षा गर्नुपर्नेमा जोड दिए। उनले प्रतिनिधिसभाको संख्या घटाएर २०१, मन्त्रिमण्डल १५ सदस्यमा सीमित राख्ने, र प्रदेश मन्त्रीपरिषद् ५ जना सीमामा झार्नुपर्ने प्रस्ताव गरे।
स्थानिय तहको संख्यालाई ४०० मा सीमित गर्दै जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने सुझावसहित उनले उपप्रमुख/उपाध्यक्ष जस्ता पदहरू अनावश्यक भएको बताए।
आगामी महाधिवेशन कुनै पनि बहानामा सार्न नहुने भन्दै पौडेलले विशेष महाधिवेशनको मागप्रति समर्थन जनाए।
“ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर मात्र कांग्रेस देशको समस्याको समाधान गर्न सक्षम हुनेछ,” उनले भने।
पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्रीको हैसियतले गरेका सुधारहरू उल्लेख गर्दै पौडेलले स्वास्थ्य बिमा विस्तार र विपन्न वर्गको पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले पार्टीले यसलाई नीतिगत रूपमा अंगाल्न सके समाजवादी मूल्यमा आधारित स्वास्थ्य सेवा सम्भव हुने बताए।
पार्टी सभापति देउवाप्रति आक्रमणको निन्दा
नेता पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाको प्रशंसा गर्दै सभापति शेरबहादुर देउवाप्रति गरिएको आक्रमणको भर्त्सना गरे। उनले देउवाले पार्टी बैठकमा दिएको जिम्मेवार धारणा अनुसार नै कांग्रेस अघि बढ्नुपर्ने धारणा राखे।