बिराटनगरमा करिब चार दशक देखि भव्यताका साथ सामुहिक रुपमा मनाइने महेश नवमी समारोह यस वर्ष कोरोना विश्वमहामारीका कारण आ–आफ्नै घरमा मनाउने भएका छन् ।
जेष्ठ शुक्लपक्ष नवमी तिथिको दिन भगवान महेश (शिव पार्वती) को विशेष पुजा अर्चना र भजन कीर्तन सहित मनाइने महेश नवमी समारोह २०३९ देखि बिराटनगरमा सामुहिक रुपमा मनाउँदै आइ रहेको माहेश्वरी समाज बिराटनगरका निवर्तमान अध्यक्ष बेनीगोपाल मून्दड़ा बताउनु हुन्छ । महेश नवमी समारोह माहेश्वरी समाजको उत्पति दिवसको रुपमा सामाजिक एकता र उत्थानको लागि मनाइन्छ ।
५१५३ वर्ष पुर्व जेष्ठ शुक्लपक्ष नवमी तिथीको दिन भगवान महेशले राजस्थानको लाहार्गलमा हथियार विसर्जन गराई हाथमा तराजु थमाएर क्षेत्रीय धर्म बाट वैश्य धर्म धारण गराएकोले यस दिनलाई माहेश्वरी समाजको उत्पति दिवसको रुपमा मनाउने परम्परा रहेको जानकारहरु बताउँछन् । महेश नवमीको शुरुवात युधिष्ठिर संवत ९ देखि नै शुरु भएको इतिहासविदहरु बताउँछन् ।
यसै विषयमा माहेश्वरी समाज बिराटनगरका निवर्तमान अध्यक्ष बेनीगोपाल मून्दड़ा संग हिपमतकर्मी प्रकाश झा प्रेमीले गरेको कुराकानीको संपादित अंश

महेश नवमी किन मनाइन्छ र कसरी मनाइन्छ ?
हरेक जात धर्म वर्ण समाज समुदाय र देशको आफ्नो संस्कृति, आफ्नो परम्परा हुन्छ र त्यो नै उसको पहिचान हो । संसार को जुन सुकै ठाउँमा पनि संस्कृति र परम्परा नै उसको आफ्नो पहिचान हुन्छ । हामी यसलाई आफ्नो वंशको उत्पति दिवसको रुपमा मनाउँछौ । हामी माहेश्वरीहरु विश्वको जुन सुकै ठाउँमा भए पनि जेष्ठ शुक्लपक्ष नवमी तिथीको दिन महेश नवमी मनाउँने गरेका छौ । यस्ता पर्व, समारोह, संस्कृतिलाई संरक्षित, सुरक्षित र जीवन्त राख्नु आफ्नो पहिचानलाई जीवन्त राख्नु हो । यसले भावी पीढीमा पनि आफ्नो वंश, पुर्खा, परम्परा, संस्कृतिमा गर्व गर्ने आत्मविश्वास जागृत हुन्छ र उनीहरुले पनि जुन सुकै परिस्थितिमा आफ्नो पहिचान बचाइ राख्छन् ।

अर्को कुरा कसरी मनाइन्छ ? यसमा भगवान महेशको अभिशेष, आरती, महाआरती नै प्रमुख हो । अन्य देवताको पुजा जस्तै फलफुल, प्रसाद, मिष्ठान र पकवान चढाई भजन कीर्तन गरी यो पुजा गरिन्छ । तर, यसको साथै नेपाल भारत सहित विश्वका माहेश्वरीहरुले आफ्नो स्थानमा समयानुकुल विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेका छन् । बिराटनगरका माहेश्वरी समाजले यस अवसरमा भजन सन्धया, प्रभात फेरी, गौ पुजन, रक्तदान, वालवालिका तथा महिलाहरुको विभिन्न खेलकुद, मेधावी छात्र–छात्राहरुलाई प्रोत्साहन प्रमाण पत्र वितरण, सांस्कृतिक कार्यक्रम तथा सामुहिक भोजको व्यवस्थागरी तीन देखि सात दिन सम्म यो समारोह मनाइन्छ ।
बिराटनगरको माहेश्वरी समाज कहिले देखि र कसरी यो समारोह मनाउँदै आइ रहेको छ ?
माहेश्वरी समाजका बन्धुहरु बिराटनगर आएको बेला देखि नै आ–आफ्नो घरमा यो पर्व मनाउने गरिन्थ्यो । तर, २०३९ सालमा बिराटनगरमा छरिएर रहेका माहेश्वरी समाजका बन्धुहरुलाई संगठित गर्न साझा संस्थाको रुपमा नेपाल माहेश्वरी सभाको गठन भए पश्चात यो समारोह सामुहिक रुपमा भव्यताका साथ मनाउन थाल्यो । समयको प्रवाह तथा विभिन्न परिस्थितीले गर्दा २०६१ सालमा माहेश्वरी समाज भित्र नै अर्को संस्था महेश मित्र परिषद नेपालको स्थापना भयो तर, महेश नवमी समारोह दुबै संस्था एकै छाता मुनी एकै थलोमा मनाउने गरिन्थ्यो । २०७४ सालमा फेरी दुबै संस्था एकिकरण भई माहेश्वरी समाज विराटनगरको गठन भयो र त्यसपश्चात बिराटनगरका सम्पूर्ण माहेश्वरी समाज संयुक्त रुपमा महेश नवमी समारोह मनाउँदै आइ रहेको छ ।
लकडाउनमा यो पर्व कसरी मनाउने योजना बनाउनु भएको छ ?
विश्व महामारीको रुपमा रहेको कोबिड १९ ले त विश्व नै लकडाउनमा रहेको छ । हाम्रा धर्म र शास्त्र पुराणले पनि पहिला आफ्नै स्वास्थ्य र सुरक्षाको कुरा गरेका छन् । “आत्म हिताय च जगत हिताय” त्यसैले यस वर्ष हामी पनि आफ्नो आफ्नो घरमा नै यो पर्व मनाउँने भएका छौ ।
माहेश्वरी समाजको अवस्था बिराटनगरमा वा नेपालमा कस्तो देखनु भएको छ ?
हेर्नुस्, माहेश्वरी समाज पनि मारवाड़ी समुदाय भित्रकै एउटा अंग हो । करिब करिब डेढ सय वर्ष पुर्व नै माहेश्वरी समाजको आगमन पूर्वी नेपालमा भएको जानकारीमा आउँछ । वहाँहरु नेपालमा आएर आफ्नो व्यापार व्यवसाय शुरु गर्नु भएको हो । आहिले करिब करिब ४०० घर परिवार बिराटनगरमा रहेका छन् । सामान्य व्यपार, गोला गद्दी बाट आफ्नो व्यापारिक यात्रा शुरु गरेका माहेश्वरी समाज अहिले ठूलो–ठूलो उद्योग संचालनमा सक्रिय रहेका छन् । उद्योग व्यवसाय सहित विभिन्न पेशागत संगठनमा आबद्ध रहेका छन् । नेपाल भरीका माहेश्वरी समाजका छाता संगठन नेपाल माहेश्वरी परिषद भित्र मेची देखि महाकाली सम्म नौ वटा ईकाइ रहेको छ । यस परिषदका वर्तमान अध्यक्ष माहेश्वरी समाज विराटनगरका सदस्य महेश सोनी हुनुहुन्छ । यसै नौ वटा इकाई मध्ये माहेश्वरी समाज बिराटनगर पनि एक हो, जसको वर्तमान अध्यक्ष नन्दकिशोर राठी (वागमती) हुनुहुन्छ ।
माहेश्वरी समाज भित्र पहिले र अहिलेमा के फरक देख्नु भएको छ ?
धेरै फरक रहेको छ र यो फरक हुनु स्वभाविक पनि हो । परिवर्तन प्राकृति शाश्वत हो जो समय अनुसार भई रहेको हुन्छ र हुनु पनि पर्छ । माहेश्वरी समाज बिराटनगरमा पनि धेरै परिवर्तन भएको छ । सब भन्दा पहिला त घरमै महेश नवमी मनाइन्थ्यो, पछि सामुहिक रुपमा मनाउँन थालियो तर यसमा पनि महिला, वालवालिका तथा युवा युवती को उपस्थिती हुँदैन थियो । अब महिला–पुरुष, युवा–युवती र वालवालिका समेत सहभागि भएर संयुक्त रुपमा हर्षोल्लास र उमंगका साथ आफ्नो चाँड पर्व मनाउन थालेका छन् । त्यस्तै विशेष समारोहमा खेलकुद सहित विविध सांगितिक सांस्कृतिक कार्यक्रमको आयोजना तथा अन्य समाजका विशिष्ठ व्यक्तित्वलाई पनि आमन्त्रण गर्ने प्रचलन रहेको छ ।
दुई वटा संस्था एकिकरण भई गठन भएको नयाँ संस्था माहेश्वरी समाज बिराटनगरको आगामी गतिविधि कस्तो देख्नु भएको छ ?
धेरै राम्रो । नयाँ संस्थाले नयाँ उर्जा प्रवाह गरेको छ । आपसी मतभेद समाप्त भई समाज मजबुतिका साथ संगठित भएका छन् । वैचारकि शक्ति र आर्थिक शक्तिमा बृद्धि भएको छ । एकताको संदेश प्रवाहित भएको छ, जसले नयाँ पीढीलाई पनि एकताबद्ध भएर अगाडी बढ्ने पे्ररणा जागृत भएको छ । माहेश्वरी समाज बिराटनगरले आगामी दिनमा भवन निर्माण गर्ने परिकल्पना गरेको छ ।
अन्तयमा के भन्न चाहनु हुन्छ ?
विश्वनै लकडाउन भएको यस अवस्थामा यस वर्षको महेश नवमी पर्व पनि हामी घरमै मनाउने भएका छौ र तपाईहरु पनि आफ्नो चाँड पर्वहरु घरमै मनाउनु होला । किनभने स्वास्थ्य नै हाम्रो ठूलो सम्पती हो । नेपाल सरकारद्वारा जारी निर्देशनको पालना गरौ, घरमै बसौ, सुरक्षित रहौं । अन्तयमा हिमाल पहाड तराई मधेशको आवाजलाई प्रतिनिधित्व गर्ने बिराटनगरमा स्थापित हिपमत डट कम डिजिटल पत्रिकाले माहेश्वरी समाज र महेश नवमी समारोहको विषयलाई आफ्नो पत्रिका मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका माहेश्वरी समुदाय सम्म पु¥याउनु भएकोमा हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!