बुधबार, जेठ १४, २०७७ || 525  पटक पढिएको

कोरोना भाइरसको सङ्क्रमण तत्काल रोकथाम हुने अवस्था नदेखेर रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपाली ठूलो सङ्ख्यामा फर्कन थालेपछि कैलालीका स्थानीय तहहरू उनीहरूको व्यवस्थापनमा जुटेका छन् । अहिले कैलालीका स्थानीय तहहरू क्वारेन्टिन व्यवस्थापन तथा सीमासम्म पुगेका आफ्ना पालिकाका नागरिकको उद्धारमा व्यस्त देखिन्छन् ।

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी दैनिकजसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन नगरपालिकाले सवारी साधन पठाउने गरेको बताउनुहुन्छ । “हामी आफ्ना नागरिक ल्याउन र उहाँहरूलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न लागिरहेका छौँ ।” वडा–वडामा क्वारेन्टिन बनाएर व्यवस्थापनमा वडाध्यक्ष तथा सरोकारवाला साथी खट्नुभएको छ”, प्रमुख चौधरीले भन्नुभयो ।

बन्दाबन्दीका कारण बन्द रहेका नगरपालिकाभित्रका विद्यालयलाई क्वारेन्टिनका रूपमा विकास गरेर स्थानीय युवा स्वयंसेवकलाई परिचालन गराएर भारतबाट आउनेलाई कम्तीमा दुई हप्ता क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षणपश्चात् घर पठाउने गरिँदै आएकामा अब भने कम्तीमा तीन क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो । अहिले नगरपालिकाको क्वारेन्टिनमा ४२० जनालाई राखिएको र यो सङ्ख्या वृद्धि हुँदै जाने निश्चित भएको र व्यवस्थापनमा केही चुनौती रहेको नगरप्रमुख चौधरीले बताउनुभयो ।

कैलालीको गौरीगङ्गा नगरपालिका प्रमुख भीमबहादुर देउवा नगरपालिकाले नेपाल–भारत सीमासम्म पुगेका नागरिक लिन नियमित सवारी साधन पठाउने गरेको बताउनुहुन्छ । “शुरुआती समयमा पालिकाभित्रका दुई स्थानमा मात्र क्वारेन्टिन बनाएर भारत तथा देशभित्रकै अन्य स्थानबाट आएकालाई राखिएको भएता पनि पछिल्लो समय भारतबाट फर्कनेहरूको सङ्ख्या बढेपछि हरेक वडामा क्वारेन्टिन बनाएर व्यवस्थापन गर्नतर्फ लागेको”, नगरप्रमुख देउवा बताउनुहुन्छ ।

भारतबाट आउने कोहीलाई पनि क्वारेनटिनमा बसाउनुपर्ने नभए सङ्क्रमणको खतरा बढ्न सक्ने भन्दै जनप्रतिनिधि तथा स्थानीय युवा क्लबमार्फत चेतना जगाउने काम पनि गरिरहेका कारण तथा सामाजिक सञ्जालमा सम्पर्क नम्बर राखिदिएका कारण सीमामा आउने पालिकाका जनताले सोझै सम्पर्क राख्न सक्ने भएको हुँदा व्यवस्थापनमा सहज भएको नगरप्रमुख देउवा बताउनुहुन्छ ।

कोरोना सङ्क्रमण फैलिन नदिन नगरपालिकाभित्र विभिन्न १० ठाउँमा क्वारेन्टिन बनाएर भारतलगायत बाहिरबाट आउनेहरूको व्यवस्थापनमा जुटिरहेको कैलालीको लम्किचुहा नगरपालिकामा अहिलेसम्म ६३० जना क्वारेन्टिनमा छन् । नगरपालिकाका प्रमुख महादेव बजगाईँ यो सङ्ख्या अझै बढ्ने बताउनुहुन्छ । भारतबाट नेपाल आउने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढेका कारण व्यवस्थापनमा केही चुनौती भएको भए पनि सबैको सहयोगमा सही ढङ्गले व्यवस्थापन गरिँदै आएको प्रमुख बजगाईँले बताउनुभयो ।

“आजभोलि दैनिक नेपाल–भारत सीमामा आएका आफ्ना नागरिकलाई ल्याउनमा व्यस्त रहेको र अझै केही दिन एकदमै ठूलो सङ्ख्यामा नागरिक स्वदेश आउने भएकाले उहाँहरूको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखापर्ने भएकाले यस विषयमा प्रदेश तथा केन्द्र सरकारले पनि ठोस कदम चाल्नुपर्ने नत्र स्थिति भयावह हुनसक्ने”, नगरप्रमुख बजगाईँको भनाइ छ । स्थानीय तहहरूले आफ्नो क्षमताअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको भए पनि स्थानीय तह र केन्द्र सरकारबीचको सरकार प्रदेश सरकारले पहलकदमी नलिएको नगरप्रमुख बजगाईँले बताउनुभयो ।

सुदूरपश्चिम तथा देशभरमै पछिल्लो समय भारतबाट आएकाहरूमा सङ्क्रमण देखिन थालेपछि स्थानीय पालिकाहरू आफ्ना नागरिक लिन सीमासम्मै पुगेर आफ्ना जनताको उद्धारमा सक्रिय भएर लाग्नु सुखद् कुरा भएको जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले बताउनुभयो । प्रमुख थापाले सुदूरपश्चिममा भारतबाट फर्किने क्रम बढेसँगै यस क्षेत्रमा कोरोना सङ्क्रमणको चिन्ता पनि बढेको बताउनुभयो । केही दिनयता कैलालीको मुख्य नाका त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट सयौं नेपाली भित्रिएको भए पनि स्वास्थ्य परीक्षण भने खासै हुन नसकेको जसका कारण स्थिति नियन्त्रण बाहिर जानसक्ने अवस्था आउन सक्ने भएकाले स्थानीय पालिकाहरूको सक्रियता प्रशंसनीय भएको र प्रदेश सरकारले अझै आवश्यक समन्वय गर्नुपर्ने थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!