शुक्रबार, बैशाख १२, २०७७ || 1426  पटक पढिएको

म यतिबेला अष्ट्रियाको इन्स्बु्रकमा छु । यहाँ बस्न थालेको करिब दुई दशक भएको छ । मेरो परिवारमा श्रीमती सोमत र छोरी दिवानी छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै त्रसित भइरहेको बेला अष्ट्रिया पनि अछुतो रहने कुरै आएन । यहाँ पनि एक महिनाभन्दा लामो समयदेखि लकडाउन जारी छ । यहाँका जनताले लकडाउनलाई पूर्ण रुपमा पालना गरेका छन् । यो लकडाउनले मलाई चाहिं आनन्द भएको छ । लकडाउनलाई मैले पूर्ण रुपमा इन्जोय गरिरहेको छु । अहिले परिवारलाई समय दिन पाएको छु । म रेष्टुरेन्ट व्यवसाय गर्दछु । सधैं व्यवसायमा व्यस्त हुँदा परिवारलाई समय दिन सकिरहेको थिइनँ । तर, अहिले लकडाउनले फुर्सदिलो बनाएको छ । दैनिक २–३ घन्टा हामी हिंड्ने गरेका छौं । यो ठाउँ साँच्चिकै रमाइलो छ । प्राकृतिक सुन्दरताले भरिएको छ । म पोखराको मान्छे भएकाले यहाँको सुन्दरता र वातावरणले पोखरालाई समेत भुलाइदिएको छ । यो देश नेपालभन्दा आधा सानो छ र जनसंख्या पनि नेपालमा भन्दा तीन गुणा कम छ । म बसेको इन्स्ब्रुक पहाडी र हिमाली क्षेत्र हो । यो पर्यटकीय ठाउँ भएकाले विश्वका पर्यटक आउने गरेका छन् । विश्वका सेलिब्रेटी पनि आउने गरेका छन् यो ठाउँ घुम्न । सुन्दर ठाउँ भएकाले हामी पनि घुम्न निस्कन्छौं । त्यही भएर हामी हरेक दिन अहिले लकडाउनको समयमा पनि पहाडतिर घुम्न निस्कन्छौं । यसरी घुम्दा शरीरलाई निकै फाइदा हुन्छ । पसिना निस्कने गरी पैदल हिंड्दा स्वस्थ रहन सकिन्छ । यहाँका नागरिकले नेपालीलाई औधी माया गर्छन् । हामीलाई विदेशी नागरिक कहिल्यै भन्दैनन् । यहाँका नागरिकले नेपालीलाई आफ्नै दाजुभाइको जस्तो व्यवहार गर्छन् ।
कोरोनाका कारण ज्यान गुमाउने र संक्रमित हुने अधिकांश ५० वर्षभन्दा माथिकै छन् यहाँ । ५० वर्षभन्दा मुनिका एकदमै नगन्य छन् संक्रमित । हालसम्म करिब ४ सयले ज्यान गुमाएका छन् भने १४ हजार संक्रमितमध्ये ११ हजार निको भएर घर फर्किसकेका छन् । यहाँ महामारीको अवस्था छैन । जसरी पनि कोरोनालाई जित्छौं भन्ने सरकार र जनतामा उच्च आत्मबल छ । यहाँ लकडाउन खोल्ने तयारी भइरहेको छ । सायद मे १५ देखि लकडाउन खुल्छ होला । अहिले पनि लकडाउनमा घुमफिर गर्न समस्या छैन । अष्ट्रिया युरोपमा सबैभन्दा पहिला लकडाउन गर्ने मुलुक हो । सायद सबैभन्दा पहिला लकडाउन खोल्ने मुलुक पनि अष्ट्रिया नै हुन्छ होला ।
बाहिर निस्कँदा मास्क लगाउने, मानिसको सम्पर्कबाट अलि टाढा रहने हो भने कोरोनाको संक्रमणबाट बच्न सकिने रहेछ । यो रोगमा सर्तकता र सावधानी अपनाउने हो भने डराउनु पर्दैन । घरमा कसैलाई रुघाखोकी लाग्यो भने घरका अरु सदस्यलाई पनि सर्छ । यो कोरोना पनि त्यस्तै हो । तर, यो अलि कडा खालको रोग हो । आफैं सतर्क भयो भने यो रोगबाट बच्न सकिन्छ । यहाँका सबैजसो नागरिकले उच्च सतर्कता अपनाएका छन् ।
यहाँको सरकारले जनताका लागि विभिन्न विधि प्रयोग गरेर सुविधा दिइरहेको छ । एक महिनादेखि यहाँको सबैजसो व्यवसाय ठप्प छ । तर, राज्यले यसरी बन्द भएर घाटा व्यहोराका व्यवसायीका लागि राहत दिएको छ । लकडाउनका कारण रोजगारी नगुमोस् भनेर सरकारले ९० प्रतिशत र सम्बन्धित रोजगारदाताले १० प्रतिशत दिने गरी कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याएको छ । यसले रोजगारीमा संलग्नलाई ठूलो राहत मिलेको छ । जनतालाई राहत पुगोस् भनेर यहाँको सरकारले हरेक दिन नयाँ–नयाँ योजना र कार्यविधि तयार बनाउने गरेको छ । यहाँका प्रधानमन्त्री र मन्त्रीहरू सुतेका छैनन् । यहाँका प्रधानमन्त्री विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीसहित सबैजसो मन्त्री जनता र देशप्रति समर्पित भएका छन् ।
कोरोनाको संक्रमणको बेला पनि प्रधानमन्त्री जनताको बीचमा पुग्ने र समस्या बुझ्ने काम गरिरहनुभएको हामी विभिन्न टेलिभिजनबाट देख्न सक्छौं । उनीहरूले आफ्नो स्वास्थ्यको भन्दा जनताको स्वास्थ्यमा बढी ध्यान दिएको पाइन्छ । उनीहरूले सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर जनताको पक्षमा नीति निर्माण र कार्यविधि बनाउने गरिरहेका छन् । बिना ब्याज ऋण दिने कार्यविधि पनि सरकारले बनाइरहेको मैले सुनिरहेको छु । नेपाल सरकारले पनि यस्ता कुरा सिक्नुपर्छ । जनतालाई कसरी सुविधा दिने भन्ने विषयमा नेपाल सरकार त्यति चिन्तित भएको देखिँदैन । नेपालसहित विश्वमा संक्रमित भएका सबैको स्वास्थ्यलाभको कामना गर्दछु ।
(घमाल विगत २० वर्षदेखि अष्ट्रियाको इन्स्ब्रुकमा बस्दै आउनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!