बुधबार, बैशाख १०, २०७७ || 692  पटक पढिएको

काठमाडौँ उपत्यका तथा झापामा अस्थायी बसोबास गरिरहेका जिल्लावासीहरु रातारात गाउँ फर्किए । कतिपय त मालबाहक सवारीमा समेत गाउँ आए । गाउँमा कोभिड–१९ सङ्क्रमणको सम्भावना न्यून रहेको, दैनिकी चलाउन सहज हुने तथा परिवारसँग समय विताउँदै खेतीपातीका काममा सहयोग गर्ने उनीहरुको अपेक्षा थियो । यसरी गाउँ फर्कनेमध्ये अधिकांश व्यवसायी, विद्यार्थी, श्रमिक र निजी क्षेत्रका कर्मचारी छन् तर गाउँबाहिर रहेका सबैजना गाउँ फर्किएपछि गाउँमा कोभिड–१९ सङ्क्रमणको त्रास बढ्दै गयो । मानवीय चहलपहल पनि बढ्यो । पछिल्लो पटक विदेशबाट तीन हप्ताभन्दा अघि फर्केका तथा क्वारेन्टाइनमा बसिसकेकाहरु समेतमा कोभिड–१९ सङ्क्रमण देखिएपछि यहाँ गाउँमा फर्केकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको संकट व्यवस्थापन समितिको बैठकले चैत लागेयता विदेशबाट आएकासहित लुकीछिपी जिल्ला बाहिरबाट आएकाहरुलाई समेत क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि पछिल्लो समय पाँचथरका क्वारेन्टाइनहरु भरिँदै गएका छन् । यसअघि पाँचथरमा चैत लागेयता विदेशबाट आएकाहरु तथा तिनको सम्पर्कमा पुगेका १०४ जनाले क्वारेन्टाइनमा दुई साता बिताई घर फर्केका थिए । उनीहरु सबैको द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) समेत गरिएको थियो । विदेशबाट फर्केका कतिपय भने गाउँमै लुकीछिपी बसेको र स्वदेशकै विभिन्न स्थानबाट गाउँ आएकाहरुका कारण सङ्क्रमणको खतरा बढेको पाइएपछि उनीहरुलाई समेत क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो । केही दिन खाली भएका क्वारेन्टाइनमा अहिले ८० जनालाई राखिएको छ । उनीहरु अधिकांश स्थानीयवासी छन् । जिल्लामा फिदिम नगरपालिकामा १०, हिलिहाङ गाउँपालिकामा १९, याङवरकमा छ, तुम्बेवामा तीन, फाल्गुनन्दमा सात, फालेलुङमा तीन, मिक्लाजुङमा १९ र कुम्मायकमा १३ जना क्वारेन्टाइनमा राखिएका छन् । यहाँ हालसम्म १९१ जनाको आरडिटी सम्पन्न भएको छ भने ३२ जनाको स्वाब परीक्षण गरिएको छ । परीक्षणबाट सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो । विगतमा यहाँ १०४ जना क्वारेन्टाइनमा दुई हप्ता बिताई घर फर्किसकेका थिए । उनीहरु अधिकांश विदेशबाट फर्केका तथा तिनको परिवारका सदस्य थिए । विदेशबाट फर्केका तथा तिनको सम्पर्कमा आएकालाई दुई हप्ता क्वारेन्टाइनमा राखी घर पठाइएपछि अधिकांश क्वारेन्टाइन खाली भएका थिए । लामो समयपछि समेत कोभिड–१९ लक्षण देखा पर्ने भएपछि जिल्ला बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएका कारण यहाँका क्वारेन्टाइनहरु भरिभराउ भएका छन् । जिल्लाका आठ स्थानीय तहमा २०४ शय्याको क्वारेन्टाइन निर्माण गरिएका छन् तर अधिकांशको सरकारको पछिल्लो निर्णयअनुसार स्तरोन्नति भने हुन सकेको छैन । क्वारेन्टाइनमा बस्नेहरु एकापसमै आशङ्का र सर्तकताका साथ दिन बिताइरहेका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालसहित निजी क्षेत्रका समर्पित र पाथीभरा अस्पतालमा गरी २३ शय्याको आइसोलेसन कक्ष पनि सञ्चालनमा छन् । क्वारेन्टाइन र आइसोलेसन कक्षको स्थानीय तहहरुले व्यवस्थापन गरिरहेका छन् । फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङका अनुसार नगरपालिकाले सदरमुकाम क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण रोकथाम, सतर्कता, पूर्वतयारी तथा प्रतिकार्यका काममा करीब रु आठ लाख खर्च गरिसकेको छ भने राहत वितरणमा रु सात लाख ५० हजार खर्च भइसकेको छ । “विपत व्यवस्थापन कोषबाट रकम खर्च गर्दै आएका छौँ । लकडाउन लम्बिए राहतका लागि ठूलो धनराशि खर्च गर्न कठिन पर्नसक्छ”, नेम्वाङले भन्नुभयो । यहाँका स्थानीय तहहरुले विपत् व्यवस्थापन तथा कोरोना रोकथाम कोष खडा गरी रकम खर्च गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!