पथरी । मोरङको पथरीमा आगामी कात्तिक १५ गतेदेखि सुरु हुने ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप – २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ।
पथरी–११ फुटबल क्लबको आयोजनामा हुने यो प्रतियोगिता पथरीको जाँतेमोडस्थित प्रस्तावित पथरी रंगशालामा कात्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । यस वर्षको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन मैदानमा अहिले प्याराफिट निर्माण, घाँस काट्ने र सफाइका कामहरू तीव्र गतिमा भइरहेको छ।
क्लबका अध्यक्ष सुमन विकका अनुसार जेनजी आन्दोलनका कारण मुलुक अस्तव्यस्त बनेको अवस्थामा समेत प्रतियोगिता सञ्चालन गर्न क्लबले हिम्मतपूर्वक पहल गरेको हो । उनले नगरपालिका, नगर खेलकुद विकास समिति, स्थानीय संघ–संस्था र खेलप्रेमीहरूलाई सहकार्य र सहयोगका लागि आग्रह समेत गरेका छन् । नगरको गौरवको रूपमा स्थापित हुँदै गएको प्रतियोगितामा यसपटक काठमाडौंका तीन ‘ए’ डिभिजन क्लब सहित आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।
करीब ६० लाख रुपैयाँ अनुमानित लागतमा आयोजना हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । साथै, सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदयमान खेलाडीलाई पनि विधागत पुरस्कार प्रदान गरिने बताईएको छ ।
गत वर्षको पहिलो संस्करणमा ललितपुरको ब्रीगेड ब्वाइज क्लबले काठमाडौंको संकटा क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।